अर्थतन्त्रमा असरले राष्ट्रिय गौरवका आयोजना ढिलाई

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेलेको दाबी गरेका छन्। संविधान दिवसको अवसरमा सम्बोधन गर्दै कोरोना  नियन्त्रणमा सरकारको काम उराठलाग्दो नभएको जिकिर गरेका हुन्। 

चैत्रबाट भएको लकडाउनका कारण जनजीवन प्रभावित भए पनि कोरोना नियन्त्रणमा सफल भएको बताएका हुन्। ‘सरकारले महामारीलाई चुनौतीका रुपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ’ उनले भने।

‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो। तर, महामारी नियन्त्रणका लागि चालिएका कदमहरूको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्,’ उनले भने, ‘कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ।’

‘२०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा नभएकाले परिक्षणको लागि विदेश पठाउन परेको थियो’ उनले भने, ‘हाल देशभित्र दैनिक २३ हजार ५ सय भन्दा धेरै परीक्षण गर्न सक्ने क्षमताका सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशाला छन्।’ 

कोरोना परीक्षणका लागि शुरुको समयमा ८ हजार ५ सय रुपैयाँ पर्ने अहिले सरकारी तथा निजी दुवै प्रयोगशालाले २ हजारमा गर्न थालेको बताए। ‘सिंगो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिवद्धता पूरा भएको छ। र, त्यो अहिले कम हुने देखिएको छ। प्रति १० लाखमा पिसिआर परीक्षण ३० हजार नाघेको छ’ उनले भने।

आइसियू बेड क्षमता १ हजार ५ सय ५१ बाट थप गरेर २ हजार ६ सय  पु¥याइएको उनले बताए। ‘आइसियु बेड मात्रै होइन। भेन्टिलेटर संख्या ७ सय ७० बाट अहिले ९ सय पुर्‍याइएको छ’ उनले भने, ‘पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ।’ 

प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको समेत प्रष्ट्याए। स्वास्थ्य मन्त्रालयअन्तर्गत एक सय जना पोष्ट ग्र्याजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको उनले बताए।  २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीम हरु तयारी अवस्थामा राखिएको उनको भनाई छ। 

कोरोनाका लक्षण तथा रोकथाम न्यूनीकरणको उपायबारे निरन्तर विभिन्न माध्यमबाट जनचेतना फैलाउने काम भइरहेको उनले बताए। ‘पहिले परम्परागत औषधिको बारेमा द्विविधा थियो। तर, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आफु निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्‍न थालिएको छ’, उनले भने।

अर्थतन्त्रमा असर

कोरोनाको कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको उनले बताए। ‘कोरोनाको कारणले अर्थतन्त्रमा असर परेको छ। तर, हामी यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउनेछौँ’ उनले भने। 

प्रभावित उद्योग-व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरू अघि सारेको बताए। 

‘कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसुल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएका छन्’ उनले भने, ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जा कोषको व्यवस्था गरिएको छ । यसबाट २ खर्बभन्दा बढी लगानी परिचालन हुने अपेक्षा गरिएको छ।’

लकडाउनको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता भइरहेको उनले बताए। ‘लकडाउनको अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आप्रवाह भएको छ । जेठ, असार र साउन-पछिल्ला यी तीन महिनामा करिब २८७ अर्ब रूपैँया विप्रेषण आप्रवाह भएको छ’ उनले भने, ‘गत वर्षभरिमा शोधनान्तर स्थिति २८२ अर्बले बचतमा रहेको छ। कूल विदेशी बिनिमय सञ्चिति १ हजार ४०१ अर्ब पुगेको छ।’

कोरोनाको संकटको अवस्थामा पनि दातृ निकायको सहयोग बढिरहेको उनले जनाए। ‘यही अवधिमा १६८ अर्ब रूपैँया बजेट सहायतासहित कूल ५ खर्ब रूपैँया बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ’ उनले भने,  ‘यस २ वर्षको अवधिमा २ खर्बभन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने १४ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भइसकेको छ।’ 

राष्ट्रिय गौरवमा ढिलाइ

कोरोनाको कारणले राष्ट्रिय गौरवका आयोजनामा केही ढिलाई हुन पुगेको बताएका छन्। ‘गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ। यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्‍न भएको विवरणको चर्चा हुने थियो’ उनले भने।

कोरोनाको प्रकोप नफैलिएको भए भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु, मेलम्चीको आयोजना पुरा, रानीपोखरीको पुनर्निर्माण सम्पन्न, धरहरा निर्माणको कार्य पुरा र निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुन्थ्यो’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.