मुआब्जा विवादले लिक नै हाल्न सकिएन

|

विराटनगर : चेन्‍नईमा बनाइएका दुईवटा डिजेल, इलेक्ट्रिक मल्टिपल युनिट रेल शुक्रबार धनुषाको जनकपुरधाम आइपुगे। चेन्‍नईस्थित कोंकन रेल्वे कर्पोरेसनले बनाएका यी दुई रेलको स्वागतमा शुक्रबार हजारौँ जनकपुरबासी स्टेसनमा उत्रिएका थिए।

जनकपुरमा रेल आएसँगै अहिले मिडिया र सामाजिक संजालमा यसको निकै चर्चा हुने गरेको छ। जनकपुरमा रेल आएको चर्चाले तताइरहँदा विराटनगरको रेल आउने कुरालाई यतिबेला सेलाएको छ। 

के थियो विराटनगरसम्म रेल ल्याउने योजना? यो योजना कहाँ पुगेर रोकिएको छ? यसबारे थाहाखबरले केही खोतल्ने प्रयास गरेको छ। 

करिब दुई वर्षअघि भारतको बथनाहाबाट विराटनगर महानगरपालिका-१८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा राखिएको मालवाहक रेल आएको थियो। बेस ट्राइलमा नेपालतर्फको कस्टम यार्डसम्म ८ किलोमिटरको दूरी पार गर्दै रेल्वे सेवा परीक्षणका लागि रेलको इन्जिन ल्याइएको थियो। 

०७५ कात्तिक १८ गते विराटनगरमा रेल आएको विषयले त्यसबेला निकै चर्चा पाएको थियो। तर त्यसपछिका दिनमा न त रेल आउने कुरा बढ्न सकेको छ,न त रेलमार्ग निर्माणले निरन्तरता नै पाएको छ। 

दुई वर्षदेखि अपूरो रहेको मोरङको बुधनगर-कटहरी रेलमार्गको निर्माण नै अनिश्चित बन्दै गएको छ। रेल आएपछिका दिनमा नेपालमा नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बुधनगर-कटहरी रेलमार्गको निर्माण कार्य नै रोकिएको छ।

११ वर्षदेखि कायम जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा नेपाल तर्फको रेलमार्ग निर्माणको रोकिएको दुई वर्ष भइसकेको छ। भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा-विराटनगर-कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो। जसमा भारत र नेपालको सीमा क्षेत्रको स्टेसनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये अहिले पनि ३ किलोमिटर क्षेत्रमा जग्गा विवाद कायमै छ। 

जग्गाधनीहरुले सरकारले निर्धारण गरेको जग्गाको मूल्याङ्कनका आधारमा मुआब्जा नलिने र चलनचल्तीका आधारमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको माग रहँदै आएको छ।

कटहरी क्षेत्रको जग्गा हस्तान्तरण नभएका कारण १.८ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम बाँकी छ भने कटहरीमा स्टेसन निर्माण र रेलमार्ग विस्तारको काम सुरु नै हुन सकेको छैन। 

मुआब्जा विवाद सर्वाेच्चसम्म

कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म कटहरीमा स्टेसन निर्माणसँगै रेलमार्ग विस्तारको काममा अवरोध गरिरहेका छन्। जग्गा मुआब्जा विवाद यतिखेर सर्वाेच्च अदालतसम्म पुगेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार २०६८ सालमा नै  रेलमार्ग निर्माणका लागि स्थानीयलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने निर्णय भएको थियो।

तर कटहरी क्षेत्रका केही जग्गाधनीले सरकारी मूल्याङ्कनमा जग्गा दिन तयार नभएका कारण रेलमार्गको काम अघि बढ्न नसकेको निरौलाले बताए। ‘समस्या सुल्झाउन लामो समयदेखि पटक-पटक जग्गाधनीसँग छलफल र वार्ता भए पनि सहमतिमा पुग्न नसकिएको उनको भनाइ छ। 

उनले जग्गाको मुआब्जा बुझ्न नआउने किसानको जग्गा प्राप्तिका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार आवश्यक प्रक्रिया बढाइने जानकारीसमेत दिए। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार सरकारले अधिग्रहण गरेको १ सय १९ बिघा जग्गाका ५ सय ६५ धनीमध्ये २६ जनाले मुआब्जा बुझ्न बाँकी छ। 

८ किलोमिटर क्षेत्रमा लिक हाल्न बाँकी

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सन २०११ बाट बथनाहा-विराटनगर-कटहरीसम्मको कुल १८ दशमलव ६ सय १ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो। तर ९ वर्षसम्म आइपुग्दा नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८ किलोमिटर क्षेत्रमा लिक बिच्छ्याउन बाँकी छ। रेल लिक बिच्छ्याउने काम दुई वर्षदेखि अघि बढ्न भने सकेको छैन।

भारतीय इरकोण इन्टरनेसनलले नेपाल तर्फको भेडियारीबाट उत्तर ५ किलो मिटर क्षेत्रसम्म मात्र रेलमार्गका लागि रेलको लिक बिच्छयाइएको छ। त्यसैगरी भेडियारीमा कस्टम यार्ड निर्माणको काम पनि पूरा भइसकेको छ। 

विराटनगर महानगरपालिका १८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक मालवाहक रेल आएको समयमा तत्कालीन रेल विभागका निर्देशक बलराम मिश्रले जग्गा विवादको समस्य हल भएको खण्डका अबको एक वर्षभित्र कटहरीमा रेल आउने बताएका थिए। 

तर दुई वर्षदेखि रेलमार्ग निर्माणको काम रोकिए पनि विवाद सुल्झाएर निर्माणको कामलाई निरन्तरता दिने काम कतैबाट हुन सकेको छैन। 

२ अर्ब बढी खर्च भइसक्यो

भारतीय निर्माण कम्पनी इरकोण इन्टरनेसनलले नेपाल तर्फको रेल लिक बिछ्याउने कार्यमा २ अर्ब सय १३ करोड खर्च भइसकेको जनाएको छ। निर्माण कम्पनीले भारतको बथनाहाबाट विराटनगरको भेडियारीसम्मको रेलमार्ग निर्माणका लागि कुल ४ अर्ब ४८ करोडको खर्च भएको जनाएको छ। 

बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडा रेल्वे स्टेसन निर्माणको काम दुई वर्षअघि नै पूरा भएको थियो। रेलमार्गले विराटनगरको कटहरीलाई जोडेपछि तेस्रो मुलुकबाट सामान आयातमा सजिलो हुने अपेक्षा लिइएको थियो।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले रेल निर्माणको कामले गति नलिँदा  कटहरीसम्म रेल चल्ने विषयमा अन्योलता छाएको बताए। उनले भारत सरकारको सहयोगमा निर्माणाधीन रेल्वे ट्रयाकमा यात्रु र मालवाहक दुवै रेल आउजाउ गर्ने भएकाले मुआब्जाको विषयलाई जतिसक्दो चाँडै सुल्झाएर निर्माणको कामलाई गति दिनुपर्ने बताए। 

कलकत्ताबाट रेलमार्फत ढुवानी गरेको सामानहरु सीधै कटहरीसम्म आउने भएकाले मालवस्तु ढुवानी लागत कम र सस्तो पर्ने उद्योगी व्यवसायी बताउँछन्। 

भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म निर्माणाधीन रेल्वे लिकमा रेलको इन्जिन परीक्षणसमेत गरिएको र दुई वर्षअघि सञ्चालनमा आएको बथनाहादेखि बुधनगरसम्मको दूरी ८ किलोमिटरको छ। जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर छ।

जनकपुर र कटहरीमा एकै पटक उद्घाटन!

सन् २०१९ डिसेम्बर १२ सम्म बथनाहादेखि बुधनगरसम्म रेल चलाउन योजनासहित निर्माण पक्षको काम गरेको थियो। तर करिब ८ किलोमिटर मध्येको साढे दुई किलोमिटर रेल मार्गमा मुआब्जा विवादले निर्माण नै धकेलिएको छ।

निर्माण पक्षले निरन्तर रुपमा काम गर्न सकेको भए जनकपुरको र बथनाहादेखि कटहरीसम्मको रेलमार्गको एकैपटक रेल सन् २०१९ डिसेम्बर १२ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम थियो।

निकैपछि भए पनि जनकपुरमा शुक्रबार रेल आइपुगेको छ, रेल कुद्ने सपना साकार भएको छ। अहिले त्यो विषयले निकै चर्चासमेत बटुलेको छ। तर भारतको बथनाहाबाट कटहरीसम्मको रेलमार्ग निर्माण दुई वर्षदेखि रोकिन पुगेको छ।

अझ कहिले समस्या समाधान हुने भन्‍ने अन्योल छ, तसर्थ कटहरी कहिले रोल आउने विषय कति समय धकेलिने भन्‍ने अझै यकिन छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.