|

धनकुटा : कोशी लोकमार्गअन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक खण्डको खुरिलामा सडक भासिने र माथिबाट झरेको पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोर्दै आएका छन्।

उक्त सडक खण्डको खुरिलामा नियमित रुपमा परिरहेको वर्षाको कारण सडक भासिने क्रम अझैसम्म रोकिएको छैन। पछिल्लो समय एक सातादेखि परेको अविरल वर्षाको कारण सडक पुनः भासिनुको साथै माथिबाट पहिरो झरेपछि यात्रुले सास्ती व्यहोर्नु परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काका अनुसार पानी पर्न थालेपछि सडकजाम हुने गरेकाले यात्रु र ट्राफिकलाई पनि दिनरात सास्ती हुने गरेको छ। करिब दुई महिनादेखि झर्न थालेको पहिरो र भासिएको सडकले सडकमा सवारीसाधनको जाम हुँदा ट्राफिक प्रहरीहरु दिन राति खटिनु परेको उनको भनाइ छ। 

सवारी आवातजावत गर्ने क्रममा मालवाहक ट्रक चिप्लो सडकमा तान्न नसकेर पछि सर्दा पछाडि रहेका सवारी साधनलाई ठक्कर दिँदा दुर्घटना पनि भएको ट्राफिक प्रमुख खड्काले बताए। ट्रक एक्कासी चिप्लिएर पछि सरेपछि मोटरसाइकल चालक मोटरसाइकल छोडेर भागेर ज्यान बचाएको र मोटरसाइकल पूर्णरुपमा क्षति भएको उनले बताए।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले सडक जति मर्मत गरे पनि निरन्तर रुपमा भासिइरहेकाले गर्दा यात्रा गर्न जोखिम कायमै रहेको बताए। अहिले सडक दुई स्टेप बनाएर भासिएको स्थानमा यातयात सञ्चालन गरिरहेको प्रमुख शाक्यले जनाकारी दिए। सडकको माथिबाट झर्ने क्रम नरोकिएको र तलबाट पनि बग्ने क्रम नरोकिएकोले दुई स्टेपमध्ये एक स्टेप बगेर गएपछि सडक ठिकमा आउने शाक्यको भनाइ छ। 

नियमित आकासबाट पानी परेकाले सडक हिलो भएको कारण सडक बढी जाम भएको शाक्यको भनाइ छ। सडक विभागले भासिएको सडकलाई भित्ता कोट्याएर हाललाई सडक दुई स्टेपमा निर्माण गरेर दुवै तर्फीबाटोमा सवारी साधन आवात–जावतमा सहजता मिलाएको जनाएको छ। तर हिलो सडकमा सवारी साधन घण्टौंसम्म फस्दा सडक जाम हुने गरेको छ। सडक जाम हँुदा एम्बुलेन्स, मलामी गएका जस्ता अत्यावश्यक सवारी साधन घण्टौंसम्म जाममा पर्ने गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.