|

भक्तपुर : घनाबस्ती र बिजुलीका अव्यवस्थित तारका कारण काठमाडौं उपत्यका आगलागीको उच्च जोखिममा रहेको छ। तर, आगलागी भइहाले नियन्त्रणका लागि अहोरात्र तयारी अवस्थामा रहनुपर्ने दमकल सेवाको विकास र विस्तारमा कुनै निकायको ध्यान जान सकेको छैन। 

आगलागी लगायतका अन्य विपदमा समेत उद्धारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुर स्थापनाको आठ दशक पुग्न लाग्दा दुई वटा दमकलको भरमा जेनतेन चलिरहेको छ। कार्यालयसँग प्रयाप्त मात्रामा दमकल र आवश्यक तालिम प्राप्त जनशक्तिको अभाव रहेको छ।

राणा प्रधानमन्त्री जुद्ध शम्शेर राणाको पालामा शुरु भएको दमकल सेवा दिने जुद्ध वारुण यन्त्र भक्तपुरको स्थापना वि. सं. २००१ सालमा भएको हो। भक्तपुरको सिद्धपोखरीस्थित यस कार्यालयसँग हाल दुई वटा दमकल रहेको छ। ती दुई वटै दमकल कार्यालय वा नेपाल सरकारले खरिद गरेको नभई दानमा प्राप्त भएको हो।

कार्यालयसँग रहेको दुईवटा दमकलमध्ये एउटा चार वर्षअघि मध्यपुर थिमि नगरपालिका र अर्को १८ वर्ष अघि सिद्धि स्मृति प्रतिष्ठानले सहयोग गरेका हुन्‌। कार्यालय अहिले पनि यी दुई वटा दमकलकै भरमा चलेको छ। स्थापनाकालमा अमेरिकाबाट ल्याइएको मोडेस दमकलबाट सेवा प्रदान गरेको कार्यालयले वि. सं. २०२२ मा डेनिस दमकल र वि. सं. २०३२ सालमा ल्याइएको बेलायती म्याग्रिस दमकलले सेवा दिएपनि ती दमकल वर्षौदेखि बिग्रिएर थन्किएका छन्।

वर्षौंदेखि तालिम प्राप्त जनशक्तिको अभाव भएको सन्दर्भमा गत वर्ष बेल्जियमको विशेषज्ञ टोलीले पाँच दिने तालिम दिएपछि केही सहयोग भएको सूचना अधिकारी विजय धौभडेलले बताए। ‘फायर फाइटर फर नेपाल’ नाम दिएको सो तालिममा नेपालका विभिन्न जिल्लामा ७० जना अग्नि नियन्त्रकहरुलाई बेल्जियमको १५ जनाको विशेषज्ञ टोलीले तीन प्रकारको तालिम दिएको थियो।

वि. सं. २०७२ सालको भूकम्पले क्षती गरेपछि कार्यालयसँग सुरक्षित आवास समेत छैन। आठ दशक पुरानो र भूकम्पले जिर्ण बनाएको भवनमा बसेर २३ जना कर्मचारीले सेवा दिइरहेका छन। लामो प्रयासपछि कार्यालयको नयाँ भवन भने बन्ने भएको छ। नेपाली सेनासँग जग्गाको स्वामित्व विवाद भएपछि अल्झिएको भवन निर्माण प्रक्रिया छिट्टै शुरु हुने बताइएको छ। त्यसका लागि ६ करोड ८६ लाख रुपैयाँ लागतमा २१ महिनाको कार्यादेशमा नयाँ भवन बन्ने प्रक्रिया शुरु भएको कार्यालय प्रमुख राजनप्रसाद दाहालले बताए।

कार्यालयले आगलागीका बखत काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र दोलखासम्म पुगेर सेवा दिएको जुद्ध वारुण यन्त्रका सूचना अधिकारी धौभडेलले जानकारी दिए।

गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालय आगामी दिनमा कुन निकाय मातहत लैजाने भन्ने अन्योल समेत रहेको छ। मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका जुद्ध वारुण यन्त्र कार्यालय सम्बन्धित स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको थियो। सो निर्णय अनुसार काठमाडौं र ललितपुर महानगरपालिकाले वारुण यन्त्र जिम्मा लिएपनि भक्तपुर नगरपालिकाले लिन नमान्दा कार्यालय कुन निकाय मातहत लैजाने भन्ने अन्योल बढेको हो। 

भक्तपुर नगरपालिकाले आवश्यक परे आफैँ दमकल खरिद गर्ने, तर जुद्ध वारुण यन्त्रको दमकल जिम्मा नलिने जनाएपछि अहिले कार्यालयलाई जिल्लाका ४ वटै स्थानीय तह अन्तर्गत संयुक्त रुपमा राख्ने वा विपद प्राधिकरण अन्तर्गत लैजाने भन्ने बारेमा छलफल चलिरहेको कार्यालयका प्रमुख दाहालले जानकारी दिए।

जुद्ध वारुण यन्त्रका कर्मचारीले आगलागी नियन्त्रणमा जाँदा आजसम्म आगो ननिभाई नफर्केको र सडक दुर्घटना, भुकम्प, इनारमा मान्छे खस्दा र भेल, बाढी र खोलाले मान्छे बगाउँदा पनि ज्यानको बाजी लगाएर उद्दार गर्दै आएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.