|

डडेल्धुरा : विश्वको सर्वाधिक लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) शनिबारदेखि यूएईमा सुरु भएको छ।

१३औँ सिजनको आइपीएल उद्घाटन खेलमा गत संस्करण विजेता मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्स विजयी भयो। शनिबार राति सम्पन्न खेलमा सिएसके पाँच विकेटले विजयी भएको हो। मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य सीएसकेले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

आइपीएलको दोस्रो म्याचमा आइतबार (आज) दिल्ली क्यापिटल्स र किंग्स इलावेन पञ्जाव खेल्दै छन्। दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। हालसम्म यी दुई टिमले आइपीएल उपाधि जित्न सकेका छैनन्। यो वर्ष आइपीएलको सुरुवात सुखत गर्दै दुबै टिम उपाधि जित्ने लक्ष्यमा छन्।

दुबै टिमबीच भएका पछिल्ला पाँच वटा प्रतिष्पर्धा विश्लेषण गर्दा पञ्जावको पृष्ठभूमि राम्रो देखिन्छ। उसले दिल्लीलाई पाँच म्याचमध्ये एक खेलमा मात्र हराउन सकेको छैन। यद्यपि, यो सिजनमा दिल्ली र पञ्जावमा केही खेलाडी परिवर्तन भएका छन्। जसकारण दुबै टिमबीचको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

यो पटक पञ्जावमा ग्लेन म्याक्सेवल, सेल्डन कोट्रेल, क्रिस जोर्डन, जिमी निशम जस्ता नाम चलेका विदेशी खेलाडी जोडिएका छन्। 

यता दिल्लीमा शिमरोन हेटमायर, मार्कस स्टोइनिस, एलेक्स क्यारी, रवीचन्द्रन आश्विन, आजिक्य रहाणे, एनरिच नोर्तजे, डानियल साम्स, मोहित शर्माजस्ता स्टार क्रिकेटर भित्रिएका छन्।

प्लेइङ ११ मा सन्दीपको सम्भावना कति?

यस संस्करणको आइपीएलमा पनि नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्। तेस्रो सिजन आइपीएल खेल्न लागेका सन्दीप दिल्लीको पहिलो रोजाइमा पर्छन् कि पर्दैनन् भन्ने नेपाली क्रिकेटप्रेमीलाई चासो छ।

सन्दीपले पहिलो आफ्नो सिजनको अन्तिम तीन खेलमा मात्रै मौका पाएका थिए। दोस्रो सिजनमा उनले ६ खेल खेल्न पाए। दुई सिजनमा गरी ९ खेल खेलेका उनले १३ विकेट लिएका छन्। यसपटक पनि सन्दीपले दिल्लीको प्लेइङ–११ मा पर्न कडा प्रतिष्पर्धा गर्नु पर्नेछ।

सन्दीपले अनुभवी लेग स्पिनर अमित मिश्रासँगै रविचन्द्रन आश्विन र अक्षर पटेलसँग टिममा पर्न प्रतिष्पर्धा गर्नुपर्नेछ। टिमले दुई जना मात्र स्पिनर खेलाएको अवस्थामा सन्दीपका लागि कठिन हुनेछ। आइपीएलमा चार जना मात्रै विदेशी खेलाडी खेलाउनुपर्ने नियम छ। साथै उनले टिममा स्थान बनाउनको लागि विदेशी खेलाडीको कोटामा पनि पर्नुपर्नेछ। 

दिल्लीले म्याच खेल्नुअघि क्रिकेटर सम्बन्धी लोकप्रिय अनलाइन इसपीएनक्रिकइन्फोले दिल्लीबाट आइपीएल खेलिरहेका नेपाली क्रिकेटर सन्दीप प्लेइङ–११ मा मौका पाउन सक्ने उल्लेखे गरेको छ। क्रिकइन्फोका अनुसार सन्दीपले आज प्लेइङ–११ मा मौका पाउन सक्छन्।

समाचारमा उल्लेख गरेअनुसार क्रिकइन्फोले विदेशी खेलाडीको रूपमा सन्दीप, शिमरोन हेटमायर, कागिसो रबाडालाई विशेष स्थान दिएको छ। दिल्लीले चौथो विदेशी खेलाडीको रूपमा एलेक्स क्यारी, मार्कस स्टोइनिस र किमो पलमध्ये एकलाई खेलाउन सक्ने उल्लेख गरिएको छ।

यो सिजनमा सन्दीपले दिल्लीको धेरै म्याचमा मौका पाउन सक्ने चर्चा छ। भारतीय टिमका पूर्वकप्तान सुनील गावस्करले त सन्दीपको प्रशंसा गर्दै दिल्लीले उनलाई प्लेइङ–११ मा मौका दिन पनि आग्रह गरेका छन्।

लामिछानेले हालै सम्पन्न सीपीएलमा राम्रो प्रदर्शन गरेका थिए। उनले राम्रो इकोनमीमा ११ म्याचको १० इनिङ्सका १२ विकेट लिएका थिए। राम्रो लयका साथ यूएई पुगेका सन्दीपले दिल्लीको प्लेइङ–११ मा पर्न पाएको मौका सदुपयोग गर्नुपर्ने हुन्छ। दिल्लीमा उनीसहित अमित मिश्रा र रविचन्द्रन आश्विनजस्ता अनुभवी स्पिनर पनि छन्।

अभ्यासमा सामेल भए सन्दीप

आइपीएल खेल्न यूएई पुगेका नेपाली लेग स्पिन सन्दीप लामिछाने प्रशिक्षणमा सामेल भएका छन्। सन्दीप आफ्नो टिम दिल्ली क्यापिटल्ससँग अभ्यासमा जोडिएका हुन्।

वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आइपीएलका लागि सेप्टेम्बर १४ मा दुबई पुगेका सन्दीप शनिबारको अभ्यासमा सामेल भएका हुन्। तीन वटा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सन्दीप प्रशिक्षणमा सामेल भएको जनाइएको छ। 

शनिबार साँझ दिल्लीले सार्वजनिक गरेको अभ्यासको लाइभ भिडियोमा सन्दीप नेटमा अभ्यास गरेको देख्न सकिन्छ। लाइभ भिडियो सार्वजनिक गर्ने व्यक्तिले समेत सन्दीप नेटमा ब्यस्त रहेको बताएका थिए।

सन्दीप र उनको साथी पृथ्वी दुवै जना नेटमा लेग स्पिन बलिङ गरिरहेको उल्लेख गर्दै ती लाइभ गर्ने व्यक्तिले भनेका छन्, ‘उनीहरुसंग अमित मिश्रसमेत छन्।’ 

सुरुआती ११ स्थानका लागि चर्को प्रतिष्पर्धा

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले आफ्नो टिममा खेलाडीबीच सुरुआती ११ स्थानका लागि चर्को प्रतिष्पर्धा रहेको बताएका छन्। 

पोन्टिङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्वीट गर्दै बुधबार सुरुआती प्लेइङ ११ का लागि चर्को प्रतिष्पर्धा रहेको बताएका हुन्। 

‘सबै प्रतियोगिताको व्यग्र प्रतीक्षामा छन्। हाम्रो पहिलो खेल आइतबार छ। अभ्यासमा सबै खेलाडी उत्कृष्ट देखिएका छन् र सुरुआती ११ खेलाडीमा पर्न यी खेलाडीबीच चर्को प्रतिष्पर्धा हुने निश्चित छ।’ पोन्टिङले ट्वीट गर्दै लेखेका छन्, ‘यो यस्तो गाह्रो स्थिति हो, जसको अपेक्षा भने प्रशिक्षकले गरेको हुन्छ, प्रशिक्षकले चाहने यस्तै हो।’

गत संस्करणमा सौरव गांगुली र रिकी पोन्टिङको व्यवस्थापनमा दिल्लीले प्लअ‍ेफमा स्थान बनाएको थियो। यो सिजनमा दिल्लीको टिम राम्रो रहेको छ। दिल्लीलाई उपाधि जित्नसक्ने टिमका रुपमा हेरिएको छ।

दिल्लीको टिममा यो पटक भारतीय टिमका अनुभवी खेलाडी छन्। टिममा यो पटक रविचन्द्रन आश्विन, आजिंक्य रहाणे, शिखर धवन, अमित मिश्रा, इशान्त शर्मा, मोहित शर्मा जस्ता अनुभवी खेलाडी छन्। यो पटक दिल्लीका यी अनुभवी खेलाडीले आशातित प्रदर्शन गरे भने टिमले उपाधि जित्न पनि सक्छ।

दिल्लीमा अधिकांश युवा खेलाडी छन्। जसले आइपीएलमा शानदार प्रदर्शन गर्दै प्रभावित पारिसकेका छन्। टिमसँग ऋषभ पन्त, पृथ्वी शा, कप्तान अय्यर जस्ता युवा ब्याट्सम्यानका साथै अक्षर पटेल, ललित यादव, दुषार देशपाण्डे छन्।

१३औँ सिजनको आइपीएलमा दिल्लीका लागि विदेश खेलाडीको रूपमा शिमरोन हेटमायर, मार्कस स्टोइनिस, सन्दीप लामिछाने, एलेक्स क्यारी, किमो पल, डानियल साम्स, एनरिच नार्तेजे खेल्दै छन्। यीमध्ये हेटमायर, लामिछाने, स्टोइनिस पछिल्लो समय राम्रो लयमा देखिएका छन्। दिल्लीले विदेश खेलाडीबाट यो संस्करणमा राम्रो फाइदा लिन सक्छ।

दिल्लीको सम्भावित प्लेइङ ११:

​पृथ्वी शा, शिखर धवन, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), एलेक्स क्यारी/मार्कस स्टोनिस/कीमो पल, अक्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा, सन्दीप लामिछाने र ईशान्त शर्मा।

पञ्जावको सम्भावित प्लेइङ ११ः

​केएल राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, सर्फराज खान, मन्दीप सिंहरदीपक हुड्डा, कृष्णप्पा गौतम, जेम्स नीशमरक्रिस जोर्डन/शेल्डन कोट्रेल, रवि बिश्नोईरजगदीश सुचित, मोहम्मद शमी र मुजीबउर रहमान।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.