कारोबारी भन्छन्‌, 'कर्मचारीले हेल्चेक्य्राइँ गरे'

|

पर्सा : ​वार्षिक राजस्व लक्ष्य प्राप्तिमा वीरगन्ज भन्सार कार्यालय विगत पाँच वर्षदेखि चुक्दै आएको तथ्यांकले देखाएको छ।

मधेश आन्दोलन ०७२/०७३ मा भारतीयको सहयोगमा ६ महिना नाका अवरुद्ध भएको वर्षयता कार्यालयले राजस्‍व लक्ष्य भेट्न सकेको छैन।

आर्थिक वर्ष ०७२/०७३ मा ७७ दशमलव ४२ प्रतिशत, ०७३/०७४ मा ९८ दशमलव ८ प्रतिशत, ०७४/०७५ मा ९७ दशमलव ४८ प्रतिशत, ०७५/०७६ मा ८५ दशमलव ९७ र गत आर्थिक वर्ष अर्थात ०७६/०७७ मा ६६ दशमलव ८९ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

लगातार लक्ष्य भेट्न नसकेपछि राजस्व विभागले चालू आर्थिक वर्ष ०७७/०७८ का लागि राजस्‍व लक्ष्य नै खुम्च्याएर वीरगन्ज भन्सारलाई लक्ष्य दिएको छ। तर, आर्थिक वर्षको दोस्रो महिनामै कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको असोज महिनायता वीरगन्ज भन्सारले चालू आर्थिक वर्षको साउन बाहेक अन्य महिनामा लक्ष्य भेट्टाउन सकेको छैन।

वीरगन्ज भन्सारलाई भदौ महिनाका लागि विभागले दिएको लक्ष्य र प्रगति

चालू आर्थिक वर्षको भदौ महिनामा राजस्‍व पूरा नहुनुमा सवारी र पेट्रोलियम पदार्थ कम आयात भएको वीरगन्ज भन्सारका सूचना अधिकारी विमल कुमार साहले बताए। वीरगन्ज भन्सारको राजस्‍व बढि संकलन हुने बस्तु नै पेट्रोलियम पदार्थ र सवारी साधन तथा मोटरसाइकलहरू भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख गोपाल खत्रीको भनाइ छ।

'कर्मचारीले हेल्चेक्य्राइँ गरे'

भन्सारका कर्मचारीहरूको उदासीनताका कारण लक्ष्यभन्दा निकै राजस्‍व संकलन भएको व्यवसायीहरू बताउँछन्‌।

अहिले कोरोना कहरलाई वहाना बनाएर जिम्मेवार कर्मचारीहरू उम्किन खोजेको उनीहरूको भनाई छ। माल बस्तु छुटाउँदा आफूहरूले साविकको मिल्तीमा कुनै कटौती नगरेको, तर कर्मचारीहरूले भनेअनुसार नगरेको उनीहरू बताउँछन्‌। 

भारतीय सहयोगमा २०७२/०७३ को ६ महिने मधेश आन्दोलन हुँदाजस्तोे गएको भदौ महिनामा भन्सार नाका पुरै ठप्प थिएन। तथापि, राजस्‍व विभागले वीरगन्ज भन्सारलाई भदौ महिनाका लागि दिएको १२ अर्ब १० लाख ५ हजार रुपैयाँ राजस्‍व संकलन गर्ने लक्ष्य दिएको थियो।

लक्ष्यभन्दा झण्डै साढे ३ अर्ब कम अर्थात ८ अर्ब ५९ करोड ५८ लाख ७३ हजार रुपैयाँ मात्र राजस्‍व संकलन भएको तथ्यांकले देखाएको छ। संकलित राजस्‍व लक्ष्यभन्दा २८ दशमलव ३८ प्रतिशतले कम हो। 

गएको साउन महिनामा पनि पर्सा जिल्लामा निषेधाज्ञा जारी थियो। तर त्यो महिनामा लक्ष्य पूरा भएको थियो। तर आर्थिक वर्ष ०७६/०७७ मा भन्दा चालू आर्थिक वर्षका लागि ६ अर्ब ९१ करोड ७४ लाख २६ हजार रुपैयाँ लक्ष्य खुम्च्याई वीरगन्ज भन्सारलाई राजस्‍व विभागले सिलिङ तोक्दा पनि लक्ष्य पुगेको  छैन।

गत वर्षको भदौमा भन्दा चालू आर्थिक वर्षको भदौमा ५ अर्ब २५ करोड ३२ लाख १ हजार रुपैयाँ कम राजस्‍व संकलन भएको तथ्यांक छ। आर्थिक वर्ष ०७६/०७७ को भदौमा वीरगन्ज भन्सार कार्यालयले १३ अर्ब ८४ करोड ९० लाख ७४ हजार रुपैयाँ राजस्‍व संकलन गरेको थियो। 

विभागले पछिल्लो आर्थिक वर्षमा सिलिङ नै खुम्च्याई १२ अर्ब १० लाख ५ हजार रुपैयाँ राजस्‍व लक्ष्य दिएको छ। वीरगन्ज भन्सारले सो पनि पूरा गर्न सकेको छैन।

अघिल्लो आर्थिक वर्ष ०७६/०७७ को भदौमा यहि भन्सारलाई विभागले १८ अर्ब ९१ करोड ८४ लाख ३१ हजार रुपैयाँ राजस्‍व लक्ष्य दिएको थियो। जसमध्ये १३ अर्ब ८४ करोड ९० लाख ७४ हजार रुपैयाँ राजस्‍व संकलन भएको तथ्यांक प्रष्ट छ।

चालू आर्थिक वर्षको भदौ सम्मको लक्ष्यमा पनि वीरगन्ज भन्सार कार्यालय २ अर्ब २ करोड १३ लाख ४३ हजार रुपैयाँले पछि परिसकेको छ।

भन्सार विभागले चालू आर्थिक वर्षको भदौ सम्मका लागि वीरगन्ज भन्सारलाई १८ अर्ब ४२ करोड ८४ लाख २५ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले चालू आर्थिक वर्षको साउन र भदौमा गरी कुल १६ अर्ब ४० करोड ७० लाख ८२ हजार रुपैयाँ मात्र राजस्‍व संकलन गरेको तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.