|

एजेन्सी : चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनी ओराकल र वालमार्टसँग टिकटकको स्वामित्व बाँडफाँडबारे सम्झौता गर्ने निर्णय गरेसँगै उक्त एपले अमेरिकामा निरन्तरता पाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको अवधारणाप्रति समर्थन जनाएका छन्।

टिकटकको स्वामित्वकर्ता कम्पनी बाइटडान्समाथि सम्झौतामा नपुगेको खण्डमा प्रतिबन्ध खेप्नुपर्ने दबाव थियो। अमेरिकाले सुरक्षाको कारण देखाउँदै अमेरिकी कम्पनीसँग साझेदारी गर्न बाइटडान्सलाई दबाव दिँदै आएको थियो।

अमेरिकी अधिकारीले ‘टिकटकले अमेरिकी नागरिकको तथ्यांक चीन सरकारलाई बुझाउने गरेको’ आरोप लगाउँदै आएका थिए। बाइटडान्सले उक्त आरोपको खण्डन गर्दै आएपनि अमेरिकी प्रयोगकर्ता गुमाउनुपर्ने अवस्था आएपछि सम्झौतामा जान बाध्य भएको हो।

‘यो सम्झौताले दश करोड अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्कलाई सुरक्षित गर्नेछ’‚ प्रेससँगको कुराकानीमा ट्रम्पले भने, ‘यसले शतप्रतिशत सुरक्षाको ग्यारेन्टी गर्नेछ। सम्झौताको अवधारणाप्रति सहमति जनाउँदै मैले आशीर्वाद दिएको छु।’

बाइटडान्सले ट्रम्पले जनाएको समर्थनको स्वागत गरेको छ। यद्यपि सम्झौताको अवधारणाले चीन सरकारको समर्थन पाउनै बाँकी छ। बाइटडान्सले सुरक्षाको हकमा अमेरिकी पक्षलाई सन्तुष्ट पारिएको भन्दै ‘दुवै देशको कानुनअनुसार छिट्टै सम्झौता’मा हस्ताक्षर हुने अपेक्षा गरेको छ।

सम्झौताको अवधारणा तयार नभएको भए आइतबारदेखि अमेरिकामा टिकटकको डाउनलोड रोकिने बताइएको थियो। सम्झौताका लागि बाइटडान्स तयार भएसँगै अमेरिकाले प्रतिबन्धको पूर्वनिर्धारित मितिलाई पछि धकेल्दै २७ सेप्टेम्बर पुर्‍याएको छ।

नयाँ सम्झौतापछि ओराकल र वालमार्टले टिकटकको महत्वपूर्ण शेयर हिस्सा हात पार्ने अनुमान गरिएको छ। सम्झौताको अवधारणापत्रमा टिकटक ग्लोबल नामको नयाँ कम्पनी खडा गर्ने, कम्पनीको हेडक्वार्टर अमेरिकामा रहने, प्रमुख कार्यकारीको पदमा अमेरिकी नागरिक रहने लगायतका बुँदा छन्। टिकटकमा संग्रह हुने तथ्यांकको व्यवस्थापन ओराकलले गर्नेछ। ओराकललाई पनि सोर्सकोडमाथि पहुँच उपलब्ध गराइनेछ।

नयाँ कम्पनीको स्थापनासँगै २५ सय प्रत्यक्ष रोजगारीको सिर्जना हुनेछ भने अमेरिकाले अतिरिक्त ५ खर्ब ८६ अर्ब रुपियाँ राजस्व हासिल गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.