एकजनालाई पनि नपत्याएपछि खेलक्षेत्र निराश

|

काठमाडाैं : धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभूषित गर्‍यो। खेलकुद क्षेत्रलाई योगदान पुर्‍याएका पनि विभूषित भए। तर नेपालमा सम्पन्‍न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक दिलाउने खेलाडीलाई भने सरकारले दिने पदकले समेटेन।

सोही प्रतियोगिता आयोजना गर्न नेतृत्व भूमिका खेलेका केही पदाधिकारी भने विभूषित भए। नेतृत्व तहका व्यक्तिहरु विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। 

संविधानसभाबाट जारी भएको संविधानले आइतबार पाँचौ वर्ष पूरा गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका बाबजुद पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो।

त्यस अवसरमा राष्ट्रलाई योगदान पुर्‍याएका केही मानिस विभूषित पनि भए। धेरै क्षेत्र समेटिएको मध्ये खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदकका भागीदार भए। नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३ औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे।

दक्षिण एसियाकै मेगा इभेन्टमध्येको सागबाट पदक दिलाउँदै देशको गरिमा उच्च बनाएका खेलाडीलाई पदकबाट सम्मान नगरिनु खेलाडीलाई उपेक्षा भएको कतिपयको टिप्पणी छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का अध्यक्ष दीपक श्रेष्ठले गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरेको दुःखेसो पोखे। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरू विभूषित भएका छन्। तर खेललाई नै जीवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडीलाई विभूषित नगरेको भन्दै आइतबार एनएनआइपिए, नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको विज्ञप्ति पनि जारी गरेको छ।

नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पदक वितरणमा खेलाडीलाई उपेक्षा गरेको भन्दै सरकारलाई सचेत गराएको बताए। 

'राखेपले १३ औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो। तर, एक जना पनि उक्त पदकका लागि राज्यले योग्य ठानेन,' खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने, 'सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो। तर पदक दिलाउने सबै खेलाडी ओझेलमा परेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.