|

काठमाडौं : खोटाङ ऐँसेलुखर्क गाउँपालिका-५ की सुशीला (नाम परिवर्तन) जन्मेदेखि नै सुस्त मनस्थितिकी थिइन्‌। कहिले बेहोस हुने त कहिले छिनभरमै कुरा बिर्सिने, निकै डराउँथिन्‌। 

१७ वर्षीय आफन्ती दाजु राजेन्द्र कुमार रम्तेल घर नजिकै भएकाले सधैं सुशीलाको घरमा आउँथे। काम सघाउँथे, खेल्थे।

तर, एक दिन राजेन्द्रले अत्यासलाग्दो घटना घटाए। कोही नभएको मौका छोपेर सुशीलालाई बलात्कार गरे। त्यो बेला सुशीला १० वर्षकी थिइन्‌‌। यो घटना २०७० साल वैशाख महिनाको हो। त्यो बेला राजेन्द्रले नागरिकता बनाइसकेका थिए। घटना घटेको ७ वर्ष भैसकेको छ। तर, पीडित र पीडक परिवारमा त्यो घटनाको दाग मेटिएको छैन।

पीडित बालिका अप्ठ्यारो गरी हिँडिन्‌। यौनाङ्ग सुन्निएको थियो। त्यसपछि आमाले सोधपुछ गर्दा राजेन्द्रले बलात्कार गरेको बताइन्। ‘चकलेट दिएर मलाई फकायो। त्यसपछि उनले मलाई बलात्कार गर्‍यो। अरूलाई भन्यो भने मारिदिन्छु भनेर धम्की पनि दियो।’ पीडित छोरीले घटनाबारे बताएपछि आमा छाँगाबाट खसे झैं भइन्‌। आफन्तमै छोरो पर्नेले यस्तो गरेको थियो। 

श्रीमानलाई फोन गरेर घटनाक्रम सुनाइन्। आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान धनबहादुर (नाम परिवर्तन) ज्यामी कामका लागि काठमाडौं छिरेका थिए। फोन आएलगत्तै निरास हुँदै उनी घर फर्किए। ​त्यतिखेरको घटना सम्झँदै उनी भन्छन्‌, ‘म घर नपुग्दासम्म गाउँलेले परिवारलाई प्रहरीकहाँ जान समेत दिएनछन्‌, बडाबाउको नातीले जबरजस्ती करणी गरेको थियो, आफन्तबाटै यस्तो अपराध हुन्छ भनेर कहिलै सोचिएको थिएन, तर भैदियो।’

प्रहरीमा जाहेरी दिन लाग्दा दोषीका बुबाले 'नघट्ने घटना घटिहाल्यो, मिल्नुपर्छ' भन्दै फकाएका थिए। तर उनले मानेनन्‌। ‘दाइले छोरीलाई जँचाउन काठमाडौं लैजाउ, सबै म बिल अनुसार खर्च तिर्छु भनेका थिए,’ उनले सुनाए, ‘तर, एक जना दाइले आफैं लानुहुँदैन, पछि अप्ठ्यारोमा परिन्छ भनेपछि मन चिसो भयो। वैशाखको महिना थियो। सल्लाह गर्दागर्दै केटा त भाग्यो भन्ने खबर पाएँ। त्यसको भोलीपल्ट बिहानै ऐँसेलुखर्कस्थित प्रहरी चौकीमा गएर जबरजस्ती करणीको उजुरी हालेँ।’

उनले उजुरी हालेपछि छोरीलाई चेकजाँचका लागि मेडिकल लगे। मेडिकलबाट पनि जबरजस्ती करणी भएकै रिपोर्ट आयो। उजुरी हालेको २२ दिनपछि पनि पीडक पक्षले मिल्ने भन्दै फकाएका थिए। उनलाई 'मुद्दामा हार्छस्' भन्दै दबाव पनि दिए।

तर, उनी न्यायको पक्षमा उभिए‌। उनले दाइलाई भनेका थिए, ‘तपाई बुद्धिजीवि व्यक्ति हुनुहुन्छ। केन्द्रसम्मका धेरै नेतासँग तपाईँको चिनजान छ। तर, म एक जना कार्यकर्ता पनि चिन्दिनँ। तै पनि म यो केसमा हारेँ भने हारौँला। तर, पछि हट्दिनँ।’

त्यसपछि पनि उनलाई जबरजस्ती मिल्न भन्दै लागि ६० हजार रूपैयाँ दिन खोजियो। तर,उनले मानेन। नभन्दै असोज महिनामा पीडककै बुबाले आफैँ छोरालाई लगेर प्रहरी चौकीमा बुझाए। सुशीलाका बुबा पनि प्रहरीकहाँ पुगे। जिल्ला अदालतमा पनि मिल्ने भन्दै तीन दिनसम्म झुलाए उनलाई। धेरैले उनलाई हेपे, हप्काए,। तर, उनी पछि परेनन्, न्यायकै पक्षमा उभिए।

अदालतमा छोरीमाथि भएको सबै घटना बयान सुनाए। अन्ततः उनले मुद्दा जिते। त्यसपछि दोषीलाई साढे ८ वर्षका लागि जेल चलान फैसला भयो। उनले बल्ल न्याय पाए।

अहिले पनि दोषी जिल्ला कारगारमै कैद सजाय भोगिरहेका छन्‌। तर, पैसा र शक्तिको आडमा कानुनी कारबाही नसकिँदै निस्किने हो कि चिन्ता अझै छ। पीडित सुशीला कात्तिकमा १७ वर्षमा टेक्दै छिन्‌। ​

समाजले गरेको त्यो व्यवहार

बलात्कृत हुनुमा न छोरीको दोष थियो, न बुबाको न त आमाकै। अपराध त राजेन्द्रले नै गरेको थियो। त्यसो त कानुनबाट दोषी ठहरिएकै कारण सजाय पनि भोगिरहेको छ।

सुशीलाको परिवारले कानुनी रूपमा न्याय त पायो। तर, घटना घटेको ७ वर्ष पुग्दा पनि समाजबाट भने उल्टै पीडा पाइरहेको छ। समाजले उनीहरूलाई यसरी व्यवहार गर्‍यो कि मानौं, अपराध आफ्नै घरपरिवारले नै गरेका हुन्।

समाजबाट परिवार नै तिरस्कृत भए। सुशीला गाउँ पुग्दा समाजका अगुवा मानिएका केही अगुवाहरूले नै यतिसम्म भन्न भ्याए, ‘कति चोखो केटी गाउँमा आई!

यस्तै कारण सुशीलाका बुबा मानसिक समस्यामा परे। बाटोमा हिँड्दा पनि पछाडिबाट कोही आएको जस्तो भान भयो उनलाई। चिन्तै-चिन्ताले कामै गर्न नसक्ने अवस्थामा पुगे। त्यसपछि समाज र गाउँबाटै अलग्गिने योजना बनाए। उपचारको लागि पनि काठमाडौं धाइराख्नुपर्ने अवस्था थियो। अन्तत: गाउँ छाडे।​

सुशीलाकी आमा भन्छिन्‌, ‘घटना घटेको धेरै वर्षसम्म पनि गाउँका ठूलाबडाहरूले सोही घटनालाई लिएर मेरा श्रीमानलाई पेल्न थाले। त्यसैले उहाँ मानसिक समस्यामा पर्नुभयो। राती निन्द्रा नलाग्ने समस्या देखियो। गाउँलेकै कारण बस्ने स्थिति नै भएन। त्यसैले गाउँ छोडेर सहर छिर्न बाध्य भयौँ।’

उनले सुनेकी थिइन्‌, ‘आफूलाई समस्यामा परेको बेला समाजले सहयोग गरिदिन्छ। त्यसैले समाजमा बस्नुपर्छ।’ तर, सुशीलाको परिवारका लागि समाज सुनेजस्तो भैदिएन। जहाँ पीडितहरूको दुुःखमा मलमपट्टि लगाउनुको साटो सिर झुकाउन बाध्य बनायो। समाजबाट सान्त्वना र सहानुभूतिको साटो निरन्तर पीडा पाएपछि गाउँको सरकार भनिने गाउँपालिका र वडामा पनि यो परिवार पुग्यो, तर 'जनप्रतिनिधि' हरूले पनि एक पीडित जनको पीडामा मल्हम लगाउन चाहेनन्‌। यो परिवारलाई न्याय दिने पक्षमा स्थानीय सरकारका कोही बोलिदिएनन्‌।

​सुशीलाकी आमा दुखेसो पोख्छिन्‌, ‘गाउँका ठूला भन्नेहरूमा सहयोगको भावना नहुँदो रहेछ। न्याय दिलाउन कोही अग्रपंक्तिमा उभिएनन्। बरु जेलबाट निस्किएपछि दोषीले परिवारलाई काट्ने रे, सिध्याउने रे नी! भन्दै उल्टै हामीलाई त्रासमा राख्ने काम गर्‍यो।’ 

सो घटना घटेपछि गाउँमा कसैको घाँस वा स्याउला अरूले काटेपनि समाजले सुशीलाकै परिवारलाई दोष दिन थाल्यो। तथाकथित उच्च जातिबाट जातीय भेदभाव त भोगिरहेकै थिए। समाजले यतिसम्म गर्‍यो कि विकासका लागि सडक बनाउने भन्दै सुशीलाको परिवारसँग भएको जग्गा पनि सडकमै मिलाइदियो।

पीडित भैकन पनि समाजबाट तमाम यातना र अत्याचार भोगेकी सुशीलाकी आमा भन्छिन्‌, ‘हामीलाई धेरै घोचे, साथ दिएनन, पीडित परिवारलाई झनै तल पार्ने व्यक्तिहरूले हामीले झैं पीडा सहनु नपरोस्‌। तर पीडित भएर उल्टै अन्याय खप्नुपर्दा कस्तो हुन्छ भन्नेचाहिँ भोगुन्‌। त्यतिखेर हामीले भोगेको व्यवहारले अहिलेसम्म दु:ख दिइरहन्छ। 

पीडित परिवारलाई यतिखेर जबरजस्ती करणी गर्ने व्यक्तिहरूलाई फाँसी नै दिनुपर्ने कानुन बन्नुपर्ने जस्तो लाग्छ। 

काठमाडौं छिर्दाको सास्ती

लामो समयसम्म बलात्कृत छोरी र आँशुमा डुबेकी आमाको पीडा सहँदै गाउँमै बसेका धनबहादुर समाजका केही मानिसका कारण अत्यन्तै सकसमा परेपछि कोरोना महामारीकै बीच काठमाडौं आए। 

लामो दुरीका सवारीसाधन नचलेको कारण खोटाङबाट काठमाडौं आइपुग्न पाँच दिन लाग्यो। उनीहरू साउन २८ गते काठमाडौं आइपुगे।

‘गाउँमा बस्दा गिटी कुटेर परिवार पालेको थिए,’सिता भावुक भइन्‌,‘त्यही कमाइबाट २६ हजार रुपैयाँ जोहो भएको थियो। काठमार्डं आइपुग्दा सबै खर्च सकियो। धेरै दुःख भोगेर काठमाडौं आइपुग्यौँ।’

भएको सबै खर्च सकिएकाले अहिले यो परिवारलाई खानका लागि नै आर्थिक समस्या परिरहेको छ। हातमा सीप भएपनि धनबहादुरले काठमाडौं आएपछि काम पाएका छैनन्‌, दिदी भिनाजुले साथ दिइरहेका छन्‌।

‘अहिले केही काम पाएको छैन,’ धनबहादुरले भने, ‘यतिकै बसिरहेको छु, घर बनाउने काम गर्ने थिए। अहिले काम नपाउँदा खानकै लागि समस्या भएको छ। दिदी भिनाजुले हेरिरहनु भएको छ। छिमेकीहरूले पनि सहयोग गरिरहनु भएको छ।’ 

अबको योजना

उनीहरूले दुई रोपनी ६ आना जग्गा भाडामा लिएका छन। त्यसमा तरकारी खेती गर्ने सोच बनाएका छन्‌। गाउँ छोडेर सहर छिरेपछि आनन्दसँग बस्न पाएका छन।

गाउँको प्रथा सुनाउँदै धनबहादुर भन्छन्‌, ‘अब अन्याय गर्ने ऐंसेलुखर्कको समाजलाई सम्झन पनि मन छैन, गाउँभन्दा सहर नै प्यारो लाग्न थालेको छ।’

उनका चार जना छोरी र एक जना छोरा छन्। छोराछोरीलाई यही पढाउने योजना छ। अहिले पनि मानसिक रोग ठीक हुने औषधी सेवन गर्दै आएका छन। दुई–दुई महिनामा जँचाउनुपर्छ। तर, कोरोना महामारी फैलिएकाले उनी अस्पताल जान सकेका छैनन्‌। 

भन्छन्‌, ‘लकडाउनले समस्यामा परेका छौँ। सरकारले कृषिको लागि अनुदान र तालिम दिए हामीलाई सजिलो हुने थियो। केही मनकारीले आर्थिक सहयोग गरे झनै भाग्यमानी ठान्ने थियौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.