प्रवक्ता भन्छन् : व्यक्तिबारे छलफल भइसकेको छैन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संघीय मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ। आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियालाई अघि बढाएको हो।

सचिवालय बैठकमा चारवटा एजेण्डा छलफलका लागि तय गरिएका छन्। जसमा एक नम्बरमै मन्त्रिपरिषद् पुनर्गठनलाई राखिएको छ।

'पहिलो एजेण्डाको रुपमा मन्त्रिपरिषद् पुनर्गठनबारेमा छलफल सुरु भएको छ। स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछ', प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, 'मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि विभिन्‍न कोणबाट छलफल भइरहेको छ। नीतिगत रुपमा पुनर्गठनका सम्बन्धमा सचिवालयले निष्कर्ष निकाल्नेछ।'

प्रवक्ता श्रेष्ठले बैठकमा आकांक्षी नेताहरु र बिदा हुने मन्त्रीहरूबारे कुनै छलफल नभएको बताए। उनले व्यक्तिको नामबारेमा आवश्यकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिने जानकारी दिए।

'अहिले नै आकांक्षी र बिदा हुनेहरुको नामबारेमा हामी प्रवेश गरिसकेका छैनौं', उनले भने, 'नीतिगत मापदण्डका आधारमा विभिन्‍न कोणबाट सुझाव लिएका छौं।'

नेकपामा मन्त्री बन्‍न इच्छुकका रुपमा उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु छन्। त्यसैगरी नेताहरु जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु आकांक्षीका रुपमा देखिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.