आसेपासेलाई पदक, खेलाडीको सफलताको अपमान

|

इलाम : प्रत्येक वर्ष नेपाल सरकारले संविधान दिवसको अवसर प्रदान गर्ने विभिन्न पदक तथा विभूषणका लागि १३ औं दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीको नाम पठाएको थियो।

तर अन्तमा पदक र विभूषण पाउने ५ सय ९४ जनाको सुचीमा खेलकुद क्षेत्रबाट १९ जनाको नाममा मात्र समावेश छ। तीमध्ये पदक प्राप्त गर्ने सागमा पदकधारी १५ जना राष्ट्रिय खेलकुद परिषदबाट सिफारिस भएका नभई सम्बन्धित विभागले सिफारिस गरेका हुन्। विभागले उनीहरुलाई खेलाडीको रुपमा सिफारिस गरेको होइन्। 
खेलाडीलाई दिइएन पदक

सुकीर्ति पदकबाट विभूषित हुने शसस्त्र प्रहरी बल (एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देवीका खड्कालाई खेलाडी रुपमा नभई शसस्त्र प्रहरी जवानको रुपमा पदक दिइन लागेको हो।

नेपाल प्रताप भूषणबाट विभूषित हुने सुचीमा पुलिसका ७ जना खेलाडीहरु छन्। भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र वीरबहादुर महरा, बक्सिङका भुपेन्द्र थापा, कराँतेका सुनिता महर्जन, सरु कार्की र महशुस मोक्तानलाई प्रहरी जवान भनेर पदक दिइँदैछ।

परम पौरख भास्करबाट विभूषित हुने आर्मीका ट्रायथलन खेलाडी हिमाल टमाटालाई हुद्दाको रुपमा विभूषित गरिँदै छ। सुकीर्ति पदकबाट विभूषित हुने आर्मीकै तेक्वान्दो खेलाडी सञ्‍जीव ओझा, निता गुरुङ, संगीता मगर, बक्सिङका मिनु गुरुङलाई हुद्दा तथा कराँतेका प्रविन मानन्धरलाई सिपाही भनेर पदक दिइँदै छ। 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले विभागले कर्मचारीको रुपमा नै सिफारिस गरेको बताए। ‘हामीले सिफारिस गर्ने भनेको हाम्रो कर्मचारीको रुपमा नै हो। खेलाडीको रुपमा त खेलकुद मन्त्रालयले सिफारिस गर्ने हो, ’ उनले भने, ‘हामीले जसरी सिफारिस गरेका छौं सोहीअनुसार नै पदक दिने हो। ’

४ स्वर्ण जित्ने गौरीका रित्तै, सिलवाल र थापालाई मानपदवी

पदक पाउनबाट बञ्चित हुनेमा ३६ बर्से इतिहास बोकेको सागमा नेपालको तर्फबाट पहिलो पटक ४ वटा स्वर्ण जित्ने गौरीका सिंहको पनि थिइन्। उनी पौडीको एकल प्रतिस्पर्धामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी मात्र थिइनन्, उनले १३ औं सागमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडीको कीर्तिमान पनि बनाएकी थिइन्।

उनलाई पदकका लागि सरकारले योग्य ठहर्‍याएन। बरु राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र १३ औं साग समारोह समितिका सचिव समेत रहेका राखेपका प्रशासन विभाग प्रमुख एवम प्रवक्ता कुलबहादुर थापा पदकका लागि योग्य बने। 

सिलवाललाई सुप्रबल जनसेवा श्री तृतीय र थापालाई प्रवल जनसेवा श्री (चतुर्थ) पदक दिने निर्णय भएको थियो। उनीहरुको अतिरिक्त खेलकुद क्षेत्रबाट तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्रशिक्षक संगीना वैद्य र प्रशिक्षक तुलसी कुमार गुरुङ थिए। दुवै जनालाई प्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मान गरियो। 

राखेपले स्वर्ण पदक जित्ने सबै खेलाडी र सम्बन्धित खेलको प्रशिक्षकका लागि मानपदवी सिफारिस गरेको प्रवक्ता थापाले जानकारी दिए।

‘हामीले सागका स्वर्ण पदक विजेता र प्रशिक्षकलाई मानपदवीका लागि सिफारिस गरेका थियौं,’ उनले भने, ‘तर उहाँहरुको नाम परेन भन्ने जानकारी पाएँ।’ सदस्य सचिव सिलवाल र आफ्नो मानपदवीको सिफारिस भने युवा तथा खेलकुद मन्त्रालयबाट भएको हुन सक्ने थापाले बताए। ‘हामीलाई कसले सिफारिस गर्‍यो भन्ने थाहा भएन। सायद मन्त्रालयबाट सिफारिस भएको होला त्यस बारेमा उहाँहरूसँग बुझ्नुस,’ उनले भने। 

सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी कुल २ सय ७ पदक जित्दै नेपाल २० वर्षपछि पदक तालिकामा दोस्रो भएको थियो। जसमा गौरीकाबाहेक तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ वटा स्वर्ण पदक जितेका थिए। फुटबलले टिम इभेन्टमा स्वर्ण र अन्य खेलाडीले १/१ स्वर्ण पाएका थिए।

मानपदवी नै नदिने भए फारको नाटक किन? 

मान सम्मानको नाममा खेलाडीको योगदानलाई सरकारबाट अपमान भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले गुनासो गर्छन्। सागमा नेपाललाई कराँतेतर्फ स्वर्ण जिताएका पूर्व खेलाडीसमेत रहेका श्रेष्ठले खेलकुद क्षेत्र राजनीतिको सिकार भएको बताए।

‘यतिको अपमानित कहिले महसुस भएको थिएन। नेपाली खेलकुद जगतको लागि यो भन्दा ठुलो अपमान अरु के होला र?’ उनले भने ‘ पदक र मानपदवी कसैलाई दिनु नै थिएन भने किन फारम भर्ने नाटक रचियो?’

उनले पदक पाउने विभागका खेलाडीहरुलाई सम्मानका रुपमा पदक नदिइएको बताए। ‘पदक पाउने सबै विभागका खेलाडी भनेर होइन् जवान, हवल्दार भनेर दिएका छन्। त्यो त विभागमा योगदानको आधारमा उनीहरुले सिफारिस गरेका हुन्।’ उनले भने, ‘खेलाडीको योगदानलाई भुलेर मन्त्रालयले मनोबल गिराउने कार्य गरेको छ।’ 

उनले खेलकुदमा राजनीतिक दबदबाका कारण खेलाडीहरु पलायन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘देशका लागि भनेर भोकै तिर्खै खेल्यौं। आखिरीमा के पायौं?’ उनी प्रश्न गर्छन्, ‘पदक र सम्मानमा राजनीतिक कार्यकर्ता समावेश गरिन्छ भने हामी किन र केका लागि खेल्नु? नयाँ आउने पिँढीलाई खेलकुदमा भविष्य छ भनेर कसरी भन्ने।’ 

खेलाडीहरुलाई सम्मान नगर्नु दुखद् भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विज्ञप्ति नै जारी गरेको छ। विज्ञप्तिमा लेखिएको छ- ‘युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३ औं सागका स्वर्ण पदक विजेता यही मानपदवीका लागि भन्दै फारम भर्न लगाइएको प्रसंग संघ यहाँ स्मरण गराउन चाहन्छ।

त्यति बेला नै संघले सागका पदक विजेता हरेक खेलाडी मानपदवीको हकदार भएको उल्लेख गर्दै फारम भराउनु गलत भएको आवाज उठाएको थियो। त्यसका बावजुद पनि स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाए पनि आज सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो। यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण फेरि एक पटक उजागर भएको छ।

सम्मान दिन सकिन्‍न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहँदैन। यसलाई खेलाडी संघले गम्भीरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं। आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ।’

२० वर्षपछि सागमा २ सय ७ पदक जित्दै दोश्रो स्थान हासिल गरेको नेपालका यही सफलताका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कार्यकालको उपलब्धि भन्दै आइरहेका छन्। तर योगदानलाई सरकारले कुनै पनि कोणबाट गर्व महसुस गर्न लायक नछाडेको खेलाडीहरूको आरोप छ। 

‘एकातर्फ देशका इज्जत राख्ने खेलाडीलाई सम्मान छैन। अर्कोतर्फ सम्मान गरिएका खेलाडीलाई पनि खेलाडीको हैसियतले पदक दिइँदैन। यो मजाक नभएर के हो त?’ २ वटा स्वर्ण जितेका माण्डेकाजी श्रेष्ठ भन्छन्, ‘हामीले खेलेर पाउने भएको पदक र मानपदवी नै हो त्यसमा पनि सरकारले विभेद गरेपछि खेलाडी भनेर कसरी गर्व गर्ने?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.