|

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा टोटनह्‍यामले साउथह्याम्पटनविरुद्ध प्रभावशाली जित निकालेको छ।

टोटनह्‍यामले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दा दक्षिण कोरियाली स्ट्राइकर ह्‍‍युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे। सिजनको पहिलो खेलमा एभर्टनसँग पराजित टोटनह्‍यामले दोस्रो खेलमा शानदार जित निकालेको हो। 

साउथह्यामटनको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता पनि उसैले बनाएको थियो। तर साउथह्‍याम्पटनको अग्रता उल्ट्याउँदै टोटनह्‍यामले गतिलो जित दर्ता गराएको हो। 

सनले ह्‍याट्रिकसहित चार गोल गर्दा अर्का स्ट्राइकर ह्यारी केनले एक गोल गरे। पराजित साउथह्याम्पटनका लागि ड्यानी इन्ग्सले दुई गोल गरे। खेलको ३२ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा सनले गोल गरेपछि खेल बराबरीमा फर्कियो।

खेलको ४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्‍याम २-१ ले अग्रता बनायो। ६४ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३-१ को अग्रता दिलाउन सफल भए। प्रिमियर लिगको यो सिजनमा सनको पहिलो ह्‍याट्रिक हो।

खेलको ७३ औं मिनेटमा सनले चौथो गोल गरेपछि टोटनह्याममलाई ४-१ को अग्रता दिलाउन सफल भए। खेलको ८२ औं मिनेटमा ह्‍यारी केनले गोल गर्दै टोटनह्‍यामलाई ५-१ को अग्रता दिलाए।

साउथह्याम्पटनका लागि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरे। यससँगै स्कोर ५-२ मा पुग्यो। यो जितसँगै टोटनह्‍यामले २ खेलमा ३ अंक बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.