महारानी उपन्यासमा तत्कालिन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णन

|

म्याग्दी : म्याग्दी जन्मघर भई हाल पोखरामा बसोबास गर्दै आएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई  महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुसीयाली छाएको छ।

आइतवार बसेको गुठी बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ’महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेसंगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुसीयाली छाएको हो।

नेपालकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मदन पुरस्कार पाउने बानियाँ साविक धौलागिरि अंचलकै पहिलो व्यक्ति हुन्‌।

यस्तो छ साहित्यकार बानियाँको पृष्ठभूमि

साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २००७ साल चैत्र २५ गते भएको हो। 

उनी बुवा जि.हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका कान्छा सुपुत्र हुन्  । उनले विद्यामन्दिर माध्यमिक विद्यालय बाग्लुङबाट एसएलसी र सरस्वती क्याम्पस,ठमेलबाट स्नातक गरेका हुन्।

उनले वि.सं.२०२४ सालमा बालबोधिनी प्रा.बि.भिरमुनीबाट शिक्षण कार्य शुरु गरी  पौलस्त्य निम्न माध्यमिक विद्यालय भिरमुनी, मुक्तिधाम माध्यमिक विद्यालय राखु भगवती र मंगला माध्यमिक विद्यालय बाबियाचौरमा अध्यापन गरेका थिए।

अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उनलाई बर्खास्त गरेर सार्वजनिक अपराधको मुद्दा चलाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिए।

प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी पुनर्बहाली गरिदिने प्रलोभन पनि दिएको बानियाँले बताए। तर उनले यो प्रस्ताव ठाडै अस्वीकार गरे। फलस्वरुप उनलाई लगातार १० बर्ष तारेख बोकाइयो।

उनले निजामती सेवातर्फ प्रवेश गर्ने चाहनाले २०३४ र २०३५ सालमा दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षा दिई योग्यता क्रममा दुई र पाँच नम्बरमा नाम निकालेकोमा पञ्चायत व्यवस्था विरोधी रेकर्डको कारण देखाई अन्तर्वार्तामा फ्याँकियो।

उनले २०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर २०४४ सालदेखि संगठित सदस्यको रुपमा सक्दो काम गरे। शुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र ‘क्रान्तिकारी बुद्धिजीवि संघको अध्यक्ष भए। 

मार्क्सवादी सिद्धान्तका ज्ञाता उनले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न चाहेनन्। २०४६÷४७ को आन्दोलनमा भाग लिए। फलतः २०४८ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा उनले नेकपा एमालेबाट उम्मेदवारी दिए र विजय हासिल पनि गरे।

उनी संसदमा ‘कवि सांसद’ को नामले परिचित थिए। उनको कमजोर स्वास्थ्य र राजनीतिमा आफुलाई उपयुक्त पात्र नठान्नुको कारणले संगठित राजनीतिबाट अलग भए।

तर २०५९ भाद्र ५ गते प्रशासनले माओवादीको आरोपमा गिरफ्तार गरी पटक पटक नजरबन्दमा राख्यो। सर्वोच्च अदालतको आदेशबाट जेल मुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिँदा २०६१ सालमा सपरिवार काठमाडौंमा डेरा गरी बसे। 

उनको सानो परिवारमा जीवनसंगिनी मित्रकुमारी बानियाँ,छोरा प्रविन बानियाँ र छोरी प्रमिला बानियाँ छन्। पुरा १० बर्षको काठमाडौं बसाइपछि पोखरामा कार्यरत एकमात्र छोरा डा.प्रविन बानियाँको अनुरोधमा २०७१ सालमा पोखरामा गई बस्न थाले। 

पहिले देखि नै उनको लेखन शैली मिठो र स्तरिय हुने म्याग्दीका साहित्यकारहरू बताउँछन्। तथापि उनले गहिरो अध्ययन अनुसन्धान र लेखन भने पोखराको बसाइमा गर्न थालेका कृष्ण बानियाँले जानकारी दिए।

उनको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कारःमन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो। यसको लगत्तै २०७६ सालमा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भयो। यी दुबै कृति ‘शिखा बुक्स काठमाडौं’ ले प्रकाशित गरेको हो। सोही प्रकाशकबाट निकट भविष्यमा ‘भौंज्याहा’ नामक निबन्ध संग्रह प्रकाशित हुँदै गरेको मदन पुरस्कारका लागि छनोट भएका  साहित्यकार बानियाँले जानकारी दिए।

महारानी’ उपन्यासका लागि २०७६ सालको मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताएका छन्। आफूलाई साहित्यकार समेत भन्न नरुचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुशी भएको प्रतिक्रिया दिए।

‘म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि गरेको थिइनँ,' ७० वर्षीय लेखक बानियाँले भने।

के छ महारानी उपन्यासमा 

महारानी उपन्यासमा तत्कालीन चौबिसे राज्य अन्तर्गत पर्वत राज्यको कथा रहेको छ। तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो।

त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किम्बदन्ती छ। ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ।

पर्वत राज्यको इतिहास, किम्बदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिर लगायतका विषय उपन्यासमा उठान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.