महाधिवेशन गर्न दिए यस्ता विकल्प

|

काठमाडौं : १४ औँ महाधिवेशन फागुनमा हुने नहुने अन्योलबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसबारेको खाका प्रस्तुत गरेका छन्।

आइतबार मात्रै सुदूरपश्चिमका नेता कार्यकर्तासँग १३ औँ महाधिवेशन प्रतिनिधिहरूलाई कायम राखेर १४ औँ महाधिवेशन गर्न सकिने विकल्प रहेको बताएका पौडेलले सोमबार फेसबुकमा आफ्नो भनाई सार्वजनिक गर्दै फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका हुन्।

उनले अबको पाँच महिनामा आवश्यक तयारी गरेर फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्।  ‘बाँकी रहेको ५ महिना सिङ्गै अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्‍न गरौं भन्‍ने हो,’ पौडेलले भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्‍ने मेरो आशय हो।’ 

उनले अहिलेको पार्टीको नेतृत्वको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनबाट नयाँ नेतृत्व आउनुपर्ने बताए। ‘नेपाली कांग्रेसको वर्तमान विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ', उनले अगाडि भने, 'असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ। जसअनुसार विधानत आउँदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुँदैछ।’  

सभापति शेरबहादुर देउवाको नियत महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने रहेको आरोप पनि पौडेलले लगाएका छन्। ‘वर्तमान नेतृत्वको नियत हेर्दा महाधिवेशन नै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिश देखिन्छ,’ उनले भनेका छन्, ‘किनभने एकै महिनामा सम्पन्‍न हुन सक्ने समायोजन कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्‍न गराइएको छैन ।’

पौडेलले एक महिनामा सम्पन्‍न हुनसक्ने समायोजनको काम अहिलेसम्म नभएकोले क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण रोकिएर अधिवेशन अन्योलमा पर्ने  अवस्था आएको बताएका छन्।  

पौडेलको विरोधका बावजुद सभापति देउवाले अधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग कार्यकाल सकिन पाँच महिनामात्रै बाँकी छँदा एकलौटी धमाधम गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.