|

विराटनगर : नेपालको आन्तरिक हवाई सेवा ६ महिनापछि सोमबारबाट सुरु  भएको छ। आज पहिलो दिन विराटनगरमा बुद्ध र यती एयरलाइन्सरले पाँच उडान गर्ने भएका छन्। बुद्धले तीन र यतीले दुई उडान गर्नेछन्।

विराटनगर विमानस्थलले आन्तरिक उडान सुरु भएकाले आवश्यक तयारी तथा सुरक्षा मापदण्डसम्बन्धी व्यवस्था गरेको जनाएको छ। विमानस्थलका प्रमुख उत्सव खरेलले आन्तरिक उडानलाई लक्षित गर्दै आइतबार विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको बताए।

तालिममा प्रस्थान कक्षबाट नै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ र टिकट चेकिङ, बोर्डिङ पास र विमान प्रतीक्षा कक्षसम्म यसको नमुना प्रदर्शन गरिएको थियो।

प्रमुख खरेलले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिने बताए। उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाट नै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारी साधन मात्र प्रवेश गराइने छ।

स्वास्थ्यमा समस्या आएका या शंकास्पद बिरामी यात्रुका लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।

बुद्ध र यतीले उडान भरे

बुद्ध र यतीले विराटनगरबाट काठमाडौंका लागि पहिलो उडान भरेका छन्। बुद्ध एयरले बिहान ९ः५५ बजेको उडान तालिका भए पनि मौसममा आएको खराबीका कारण ११ बजे पहिलो उडान भरेको छ।

विराटनगर कार्यालयका प्रमुख कौशल भण्डारीले ७० सिटे विमानमा ६१ यात्रु लिएर काठमाडौंका लागि पहिलो उडान भरेको जानकारी दिए। उनले लामो समयदेखि बन्द रहेको उडान सुरु हुँदा यात्रु नपाउने चिन्तामा रहेका निजी वायु सेवा कम्पनीहरू सोचेभन्दा राम्रो टिकट बुकिङ भएपछि उत्साहित देखिएका छन्।

बुद्ध एयरले अब दिउँसो ३ः५० र अपराह्न ५ बजेको उडान भर्ने छ। त्यस्तै दिउँसो ३ः५० को उडानमा पनि केही थान टिकट मात्र बुकिङ हुन बाँकी छ। अपराह्न ५ बजेको उडानका लागि पनि आधाभन्दा बढी टिकट बुकिङ भइसकेको र सबै सिट भरिने अवस्था देखिएको उनले बताए।‘हामीलाई यसरी टिकट बुकिङ होला भन्ने विश्वास थिएन,’ भण्डारीले भने, ‘तर, यात्रीहरू यात्रा गर्न उत्सुक पायौं र सोचेभन्दा धेरै राम्रो बुकिङ भएको छ।’ 

यती एयरले पनि टिकट बुकिङको अवस्था राम्रो रहेको जनाएको छ। विराटनगर कार्यालयका प्रमुख प्रेम कुँरले १२ः३० मा काठमाडौंका लागि पहिलो उडान  भएको जानकारी दिए। उनले पहिले उडानका लागि सबै ७० सिट नै प्याक भएको बताए। अब यतिले दोश्रो उडान ३ः३० बजे गर्नेछ। 

दोश्रो उडानका लागि पनि सबै सिट भरिने अवस्था रहेको प्रमुख कुवँरले जानकारी दिए।

स्वास्थ्य सुरक्षा सावधानीमा कडाइ

विराटनगर विमानस्थलमा अनावश्यक भीड नियन्त्रण गर्न जहाज अवतरण हुनु १५ मिनेट पहिले मात्र यात्रु लिन जान दिने व्यवस्था मिलाइएको छ। तत्कालका लागि ७० वर्षभन्दा माथिका यात्रुलाई यात्रा अनुमति नदिइएको बुद्ध एयर विराटनगरका प्रमुख भण्डारीले जानकारी दिए।

कोरोना महामारीले गर्दा विमान चढ्दा र ओर्लदा पनि सामाजिक दूरी पालना गर्नुपर्नेछ। यात्रु चढ्दा र ओर्लंदा ४÷४ जनाको दरले जानुपर्नेछ। विगतमा जस्तो यसपटक हाते झोला यात्रुले बोक्न पाउने छैनन्। पर्स र ल्यापटपबाहेक सबै सामान लगेज ब्यागमा राख्नुपर्नेछ।

उडान प्रतीक्षाका क्रममा पनि यात्रीले सामाजिक दूरी कायम गर्नुपर्ने छ भने सामान बुझ्ने ठाउँमा पनि तोकिएका ठाउँमा उभिनुपर्नेछ।त्यसअघि आउने र जाने दुवैका लागि हात धुने र सेनिटाइजरको पर्याप्त व्यवस्था मिलाइएको विराटनगर विमानस्थलले जनाएको छ। यात्रु जाँच गर्ने महिला र पुरुष सुरक्षाकर्मीहरूले पिपिई लगाएर यात्रुको जाँच गर्नेछन्।

उनीहरूको हरेक २ घण्टामा पालो परिवर्तन हुने व्यवस्था गरिएको छ। विमानस्थलमा यात्रु ओरालिसकेपछि विमान पूरै निर्मलीकरण गर्ने प्रबन्ध मिलाइएको र विमान अवतरणदेखि उडानसम्मको प्रक्रिया पूरा गर्न १ घण्टा समय लाग्ने गरी व्यवस्थापन मिलाइएको छ

बुद्धले मास्क र फेस सिल्ड यात्रीका लागि अनिवार्य गरेको छ। ‘मास्क र फेस शिल्ड नभएका यात्रुलाई विमानभित्र जान दिइँदैन, केही फर्महरू भर्ने व्यवस्था पनि गरेका छौं,’स्टेशन प्रमुख भण्डारीले भने,‘हामी उत्साही छौं, निकै लामो समयपछि उडान हुन पाउँदा खुसी भएका छौं।’

उनले कोरोना महामारीबाट आक्रान्त भएका नागरिकको हितलाई ध्यानमा राखेर न्यूनतम मूल्यमा टिकट बिक्री गरेका बताए। विराटनगर–काठमाडौं उडानको इकोनोमी क्लासको भाडा ४ हजार २५५ रुपैयाँ रहेकोमा विशेष स्किम दिएर ३ हजार ५०० रुपैयाँमा टिकट बिक्री गरिएको छ।

पछि यात्रीहरूलाई आकर्षित गर्न ३ हजार ३०० को स्किम दिएर टिकट बिक्री गरेको भण्डारीले जानकारी दिए। यात्रुको चाप अनुसार उडानको संख्या पनि बढाउंँदै लैजाने उनले बताए। 

लकडाउनअघि बुद्ध एयरले दैनिक सात वटासम्म र यतीले ४ वटा उडान गर्दै आएका थिए। बुद्धले भरतपुर–पोखरा उडान पनि गर्दै आएको थियो।

नेपाल एयरलाइन्सले उडान भर्न समय लाग्ने

नेपाल वायु सेवा निगमको जहाजले मर्मत नभएका कारण तत्काल विराटनगरमा उडान हुने छैन। विराटनगरमा नियमित सेवा दिँदै आएको श्री एयरलायन्सले तीन दिनपछिबाट मात्र सेवा आरम्भ गर्ने जनाएको छ। यस्तै सौर्य एयरले अक्टोबर १ देखि मात्र विराटनगरबाट सेवा आरम्भ गर्ने तयारी गरेको छ। विराटनगर विमानस्थलबाट काठमाडौंबाहेक ताप्लेजुङ, रूम्जाटार, तुम्लिङटार,फाप्लु, भोजपुरमा हवाई सेवा विस्तारित छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.