छोरीलाई बचाउन जाँदा आमाको पनि डुबेर ज्यान गयो

|

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी सीता अधिकारी आफना दुई छोरीसहित आइतबार दिउँसो घरबाट पोखरीमा चारो हाल्ने निस्किएकी थिइन। 

सधैं झैं घरबाट निस्किएकी सीता र उनका दुई छोरी जिउँदो फर्किन पाएनन्। माछालाई चारो हाल्न गएको सोही पोखरीमा डुबेर ३५ वर्षीय सीता उनकी १४ वर्षीय छोरी पवित्रा र १० वर्षीय छोरी कृतिकाको आइतबार साझ मृत्यु भयो। 

घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा रहेको माछापोखरीमा सीताका दुई छोरी पसेका थिए। उनीहरूले लगाएको कपडा पोखरीको डिलमा खोलेर राखिएको भेटिएको छ। दुई छोरी पोखरीमा डुबेपछि उद्धारका लागि आमा पसेकी थिइन्। 

घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्धार गर्न पोखरीमा पसेको देखिएको स्थानीयले रामप्रसाद अधिकारीले बताए। दिउँसोको समयमा घरबाट गएकी दुई छोरीसहित सीताको आइतबार शव साँझ पोखरीमा भेटिएको थियो।

करिब १० कठ्ठा क्षेत्रफलमा रहेको उक्त पोखरीको गहिराइ १० देखि १५ फिटको रहेको स्थानीय बताउँछन्। स्थानीयले ३ बजेको समयसम्म तीनै जना आमाछोरीलाई पोखरीमा नै देखेका त्यहाँका स्थानीय राजन अधिकारीले बताए। 

उनले गर्मीको सिजन भएकाले नानीहरु पोखरीमा पौडी खेल्न पसेको समयमा आमा आत्तिएर छोरीलाई निकाल्न जाने क्रममा पोखरीमा डुबेर उनीहरु तिनै जनाको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरे। 

सीता सधै दिउँसोको समयमा माछालाई चारो हाल्न पोखरीमा जाने गरेकी थिइन्। स्थानीयका अनुसार सीताकी जेठी छोरी कक्षा ६ र कान्छी एक कक्षामा अध्ययन गर्दै थिए। सीताका श्रीमान नौ वर्षयता सम्पर्कविहीन छन्। कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित बुढीगंगा ४ बनसखण्डीस्थित माइती घरमा बस्दै आएकी थिइन्। 

प्रहरीले राति ७ बजे शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा पठाएको छ। आइतबार पोस्टमार्टम गरेपछि आफन्तले विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.