यातायात खुलेसँगै ५६ हजार बढीले उपत्यका छाडिसके

|

काठमाडौं : आन्तरिक उडान र लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन आएपछि काठमाडौं उपत्यकामा मानिसको चहलपहल बढेको छ। हिन्दुको महान् पर्व दसैं नजिकिएसँगै विमानस्थल र सार्वजनिक यातायातका साधनहरु पाइने ठाउँमा मानिसको भिड बढ्न थालेको छ।

यो समाचार तयार पार्दासम्म मुलुकभर ६ जिल्लाबाहेक सबैमा कोरोना संक्रमित छन्। सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी,डोल्पा,मुगु र हुम्लामा शून्य संक्रमित रहेका छन्।

असोज १ गतेबाट लामो दूरीको यातायात खुलेसँगै उपत्यकाबाट बाहिरिने मानिसको संख्या बढेको छ। विभिन्न जिल्लाका गरेर ५७ हजार १ सय ४७ मानिस उपत्यकाबाट बाहिरिएका छन्। कोरोना संक्रमण ट्राभल हिस्ट्री नभएका मानिसमा समेत देखिएको बेला हटस्पट भएका ठाउँबाट जाँदा संक्रमण फैलिने उच्च सम्भावना छ।

संक्रमित भएका स्थानबाट गएका मानिसलाई स्थानीय सरकारले क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्‍नुपर्ने बताएको छ। जिल्ला भित्रिने मानिसको चाप बढी भएको क्वारेन्टाइनमा राख्न सम्भव देखिएको छैन। स्थानीय तहले जनप्रतिनिधिको संयोजकत्वमा क्वारेन्टाइनमा बस्न नसक्नेलाई होम क्वारेन्टाइनमा राखिने व्यवस्था गरेका छन्।

मुलुकभर संक्रमितको संख्या बढदै जाँदा अन्तर जिल्लाबाट गएकालाई स्थानीय नागरिकलाई कसरी व्यवस्थापन गरिन्छ? त्यो चुनौती बन्दै जाने देखिएको छ। अधिकांश जिल्ला प्रशासन, स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन बनाएका छन्।

कतिपय अवस्थामा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकालाई अनुगमन गर्न कठिन हुने भएको हो। अनुगमन र व्यवस्थापनमा समस्या हुँदा बाहिरी जिल्लाबाट गएका स्थानीयले संक्रमण फैलाउने त्रास बढदै गएको छ। केही जिल्लाले भारतबाट आएका नागरिकलाई जिल्ला प्रवेश नाकामा बनाइएको क्वारेन्टाइनमा राख्ने तयारी गरेका छन्।

'भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्छौं'

बढी संक्रमित भएका मुलकबाट आएकालाई क्वारेन्टाइनमा लगि राख्ने योजना बनाएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्य बताउँछन्। विशेषगरी भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिने उनले बताए। तेस्रो मुलुकबाट पिसिआर रिपोर्ट लिएर आएकालाई होम क्वारेन्टाइनमा राखिने उनले जानकारी दिए।

'अन्तर जिल्लाबाट आउने मानिसको संख्या बढने भएकोले क्वारेन्टाइनमा राख्न सकिँदैन, हरेक स्थानीय तहका १ देखि २ जना स्वास्थ्यकर्मीको कोभिड संयोजकत्व तोकिएको छ। तिनीहरुले कन्टयाक ट्रेसिङको काम गर्छन्,' आचार्यले भने,' स्थानीय जनप्रतिनिधिको संयोजकत्वमा होम क्वारेन्टाइनमा बसेकाको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। वडाध्यक्षले आफ्नो वडाका सबै नागरिकको अनुगमन गर्छन्।'

'अब होम क्वारेन्टाइनमा राख्छौ, अनुगमन गर्छौ'

लामो दूरीको यातायात खुलेपछि नगरपालिकाभित्र आउने मानिसलाई व्यवस्थापन गाह्रो हुने बाँके जिल्लाका नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर बताउँछिन्। पहिले पहिले भारतबाट आएका मानिसलाई मात्र क्वारेन्टाइनमा राखिएको थियो, लामो दूरीका यातायात खुलेपछि मुलुकभरबाट आएका मानिसलाई होम क्वारेन्टाइनबाट राखिने उनले बताइन्।

'नेपालगञ्ज उपमहानगरपालिकामा अहिलेसम्म कसैलाई पनि होम क्वारेन्टाइन र होम आइसोलेसनमा राखिएको थिएन। अब सबैलाई राखिन्छ,' उनले भनिन्,' बाहिरबाट आएका मानिसले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको त्यसको अनुगमन गर्नलाई हरेक वडाअध्यक्षको संयोजकत्वमा समिति बनाइएको छ।' स्थानीय तह र जिल्ला प्रशासनले संयुक्त रुपमा अनुगमन गर्ने उनले जानकारी दिइन्।

'अन्तर जिल्लाबाट आएका नगरबासीलाई व्यवस्थापनमा  कठिन'

नगरबासीले कोरोनालाई सामान्य लिएको जस्तो महसुस भएको मोरङ जिल्ला बेलबारी नगरपालिकाका प्रमखु ज्ञानेन्द्र सुवेदी बताउँछन्। लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा आएपछि मानिसको बाक्लो उपस्थित देखिन थालेको उनको भनाइ छ। अन्तर जिल्लाबाट आएका मानिसलाई व्यवस्थापनमा सबैभन्दा कठिन रहने उनले बताए।

'भारतबाट आएकालाई कडाइका साथ क्वारेन्टाइनमा बस्न लगाइएको छ,' प्रमुख सुवेदीले भने,' तेस्रो मुलुकबाट आएको मानिसको पिसिआर रिपोर्ट हेरेर क्वारेन्टाइनमा बस्न भनिएको छ।' वडाध्यक्षको संयोजकत्वमा वडामा आएका नयाँ-नया मानिसको विवरण राखिएको उनले जानकारी दिए।

लक्षण नभएकालाई अहिले पनि होम आइसोलेसनमा बस्न अनुमति दिएको उनले बताए। कोरोनाबाट बच्नको लागि स्वास्थ्य जनचेतना मुलक कार्यक्रम चलाइरहेको उनले प्रस्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.