तरकारीको मूल्य बढ्दा र भनेजति बिक्री हुँदा किसान खुसी

|

सर्लाही : निषेधाज्ञाका कारण थोक तरकारी बजार बन्द भएपछि सर्लाहीमा व्यापारीहरू तरकारी खरिद गर्न किसानको बारीमै पुग्न थालेका छन्। 

ताजा तरकारी किन्न व्यापारीहरू दैनिक दर्जनौँ गाडी लिएर भित्री बस्तीहरूमा जाने गर्न थालेका छन्। बन्दाबन्दीको समयमा तरकारी बेच्न नपाएर खेतमै कुहिँदा निराश भएका किसान यो पटक खुसी भएका छन्। 

व्यावसायिक तरकारी खेती गरिने लालबन्दी, हरिवन र बरहथवा, बागमती, ईश्वरपुरलगायत गाउगाउँबाट तरकारी बिक्री भइरहेको हो। अहिले घिरौंला बोडी, भिण्डी, झिङ्नी, परवल, लौका, भन्टालगायत तरकारी उत्पादन हुने गर्छन्। 

अघिल्लो पटकको बन्दाबन्दीमा जस्तो यो पटक निषेधाज्ञा जारी हुँदा पनि तरकारी बेच्न समस्या नभएको किसानहरू बताउँछन्। व्यापारीले गाउँमै आएर तरकारी किनेर लगिदिँदा सजिलो भइरहेको बरहथवा नगरपालिका–५, हाथीडण्डाका किसान बृजु महतोले खुसी व्यक्त गरे। निषेधाज्ञाले बजार बन्द भए पनि तरकारीको राम्रै मूल्य पाइरहेको  किसान महतोले बताए। 

तरकारी व्यापारी भिखारी साहले दुई साता अघिदेखि बजार बन्द भएपछि गाउँ–गाउँमा गाडी लगेर तरकारी खरिद गरिरहेको बताए। किसानबाट खरिद गर्ने तरकारी गौर, वीरगन्ज, जनकपुर, विराटनगर, काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा निर्यात हुने गरेको छ।

चैत, वैशाखको लडकाउन (बन्दाबन्दी) मा बाहिर तरकारी लान सकिएको थिएन। यो पटक तरकारी निकासीमा कतै पनि अवरोध नरहेको बताएका छन्। तरकारी निर्यात सहज भएपछि किसानबाट पहिलेझैँ तरकारी खरिद गरिरहेको व्यापारी साहले बताए। 

जिल्लाको सबैभन्दा ठूलो लालबन्दी थोक तरकारी बजारसहित अन्य थोक तरकारी बजार बन्द छन्। खुद्रा तरकारी बजार भने खुलिरहेका छन्। तर सम्बन्धित स्थानीय तह र प्रहरीले भीडभाड हुन दिइएको छैन्। 

    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.