|
सुत्नका लागि बिस्तरा बोकेर विद्यालय पुगेका फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका बासिन्दा

पर्वत : पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरीलाई एक सातायता यस्तो बाध्यता भएको छ कि उनीहरू सुत्नका लागि बिस्तरा बोकेर विद्यालयमा पुग्छन्, बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किन्छन्।

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोका कारण एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका छन्।

निवृत्त कर्मचारी तथा स्थानीयवासी बाल मुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए।

‘यहाँ त हाम्रो त बिजोग नै भएको छ नि। पानी पर्ला जस्तो हुँदा साथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धसम्म सबै जना विद्यालयमा गएर सुत्ने गरेका छौँ। बिहान घर त बगेको रहेनछ भन्दै खुसीले घरमा गएर फेरि काम सम्हाल्छौँ।’ उनले भने, ‘बस्तीमाथिको भीर फाटेर झर्न थालेको छ। कति बेला ज्यान जान्छ भन्ने टुङ्गो नै छैन। डराउँदै डराउँदै घरका काम गर्नुपरेको छ। कति बेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएका छौँ।’ उनका अनुसार एक घरधुरीमा औसत ६ जनाका दरले त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ।

बस्तीबाट करिब एक किलोमिटर माथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँलेहरु घर छोडेर हिँड्न बाध्य भएका लक्ष्मी सुवेदी गौडेलले बताइन्। पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकोले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ।

नगरप्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको बताए। अहिले सम्म ७ वटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकार समक्ष सिफारिस गरिसकेको उनको भनाई छ। सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनः सिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए। 

पहिरोका कारण वडा नं. ४ कै चुरी, वडा नं. ३ को पुर्कोट र रुग्दी, वडा नं. २ को दरदरे, वडा नं. १० को फल्ला लगायत गाउँहरू जोखिममा छन्। गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगर स्तरिय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.