कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडाको सुरक्षित बासस्थानका रूपमा परिचित हुन थालेको छ। यो निकुञ्ज बाह्रसिंगेका लागि पनि प्रख्यात छ।
निकुञ्जमा प्रति वर्ष गैँडाको संख्या बढ्दै जान थालेको छ। दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत एकसिंगे गैँडाका लागि सुरक्षित बासस्थान भएकाले संख्या पनि बढिरहेको छ।
‘निकुञ्ज स्थापना हुँदा गैँडाको अभिलेख नै नभएको क्षेत्रमा सन् १९९५ मा पहिलो पटक गैँडा देखापर्यो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयालले भने, ‘शुरूमा भाले भनिएको त्यो गैँडा पोथी रहेछ। त्यो गैँडालाई अनुगमन गरेपश्चात चितवन राष्ट्रिय निकुञ्जबाट दुई पटक गरी गैँडा ल्याइएको छ।’
उनका अनुसार चितवनबाट दुई पटक गरेर सन् २००० को नोभेम्बरमा १ भाले र ३ पोथी तथा सन २०१७ अप्रिलमा १ भाले र ४ पोथी गरी २ भाले र ७ पोथी गरी जम्मा ९ वटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो।
हाल निकुञ्जमा हाल ७ भाले १० पोथी गरी जम्मा १७ गैँडा रहेका छन्। स्थानान्तरण भएको दुई दशकपछि गैँडाको संख्या सन्तोषजनक रूपमा बृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत पौडयालले बताए।
‘गैँडालाई चौविसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौं,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैँडाको निगरानी राख्ने कार्य भैरहेको छ।’ उनका अनुसार गैँडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिन घाँसे मैदान व्यवस्थापनसँगै गैँडाले क्रीडा गर्ने ताल तलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको छ।
गैँडाको मूख्य बासस्थानका रुपमा महाकाली नदी तटीय क्षेत्र, चौधर नदी तटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताल लगायत रहेका छन्।
निकुञ्जका कर्मचारीसँगै नेपाली सेनाले चौविसं घण्टा गैँडा लगायतका दुर्लभ वन्यजन्तुको शुरक्षाका लागि चनाखो भएर कार्य गर्दै आएका छन्।
निकुञ्जमा पर्याप्त ताल र सिमसार क्षेत्र भएकाले गैँडाका लागि राम्रो बासस्थान छ। एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।