|

कञ्चनपुर : आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ। नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो।

दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले भने, ‘नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ।’ नगरपालिकाले सिसिटिभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडान गर्न अमृत बोहरा जेभीसँग एक करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। सिसिटिभी जडानको कार्य पूरा भएको छ। सौय बत्ती जडान गर्ने काम अघि बढाइएको बताइएको छ।

पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिकासँग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको छ। नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सौर्य बत्ती जडान गर्न नगरले बजेट छुट्याएको हो। 

‘नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ’ नगर प्रमुख चन्दले भने, ‘नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै आपराधिक क्रियाकलापमाथि नियन्त्रण गर्न र दुर्घटनाका घटना रोकथाममा सघाउ पुर्याउन क्यामेरा तथा सौर्य बत्ती जडानको कार्य अगाडि बढाइएको छ।’

सिसिटिभी क्यामेराबाट निगरानी राख्नका लागि वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.