एकै परिवारका पाँच जनाको ज्यान गयो, न पीडक समातिए, न क्षतिपूर्ति दिइयो

|
दुर्घटनामा ज्यान गुमाएकाहरू ।

उदयपुर : १० महिनाअघि  भएको सवारी दुर्घटनामा पाँच सदस्य गुमाएको उदयपुरको एक परिवारले अझै क्षतिपूर्ति र न्याय पाउन सकेको छैन।

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर चोकमा गत वर्ष मंसिर १४ गते शनिबार सवारी दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका-१० का एकै परिवारका पाँच जना र चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

सुनसरी दुर्घटना : वडाले दियो एकदिन शोक विदा

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आएको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

सो दुर्घटनामा त्रियुगा नगरपालिका-१० बस्ने ८५ वर्षीया शिवमाया राई, छोरा ५० वर्षीय तुलबहादुर राई, भतिज ३२ वर्षीय दिनेश राई, ज्वाई ६१ वर्षीय उद्धव राई, नातिहरु ३१ वर्षीय दुर्गाधन र २८ वर्षीय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो। यस्तै, त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो।

दुर्घटना भएको यत्तिका समयसम्म पनि क्षतिपूर्ति नपाएको मृतक दिनेश राईकी श्रीमती बीना राईले बताइन। अटो रिक्सा चलाएर परिवार पाल्दै आएका दिनेशको मृत्यु भएपछि छोराछोरीको लालनपालन २९ वर्षीय उनै बीनाको काँधमा आईपरेको छ। उनका एक छोरा र दुई छोरी रहेका छन्‌। 

सम्पतिको नाममा घर भएको जग्गा मात्रै रहेको र श्रीमानको मृत्युपछि परिवार चलाउन एकदमै मुस्किल पर्नुका साथै छोरा छोरीलाई पढाउन लेखाउन समेत समस्या परेको बीना बताउँछिन्‌। उनले थाहाखबरसँग भनिन्, 'न ट्रक व्यवसायीबाट पाउनुपर्ने क्षतिपूर्ति नै पाइयो, न प्रहरीले दुर्घटना गराउने चालकलाई समात्यो!' 

आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिन बित्‍ने गरेको र परिवार पाल्नका लागि श्रीमानले किनेको अटोसमेत किस्ता तिर्न नसकेपछि फाइनान्सले लगेको उनले बताइन्‌।

'ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गइयो, तर प्रहरी प्रशासनले हामीले भोगेको वियोगलाई बेवास्ता नै गर्‍यो,' बीना थप्छिन्‌।

​अदालतबाट एम्बुलेन्स र ट्रक मालिकलाई पक्राउ गर्न पूर्जी जारी भएपनि प्रहरीले घटना घटेको १० महिनासम्म उनीहरूलाई समातेको छैन। पीडितले क्षतिपूर्ति पनि पाएका छैनन्‌। प्रहरी प्रशासनले समयमै ध्यान नदिँदा पीडितहरू झन्‌ पीडामा परेका छन्‌।

​२४ वर्षीय लीला राई र टेकेन्द्रबीच विवाह भएको पुग नपुग छ महिना मात्र भएको थियो। तर, सोही दुर्घटनामा टेकेन्द्रले ज्यान गुमाए। मृतककी श्रीमती लीलाले भनिन्, 'विराटनगरबाट आउँदै छु है लीला! भनेर फोन गर्नुभएको थियो, त्यतिखेर म गर्भवती थिएँ, पेटमा दुई महिनाकी छोरी थिइन्‌, अहिले जन्मिएर तीन महिनाकी भइन्‌,  २ महिनाकी छोरी गर्भमा थिई, अहिले ३ महिनाकी भएकी छिन्, तर उहाँ कहिल्यै नफर्कने गरी हामीलाई छाडेर जानुभयो।'

लीलाकै जेठानी २४ वर्षीय सृजना राई (दुर्गाधनकी श्रीमती) पनि वैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै पति वियोग भोग्न बाध्य भइन्‌। उनी अहिले उनी ४ वर्षीया छोरीसँग बस्छिन्।

सृजनाका ससुरा हजुरबुवा अर्थमान राई हिँडडुल गर्न नसक्ने अवस्थामा र काका सासु ससुरा अपाङ्ग छन्‌। आफ्ना श्रीमान, देवर, ससुरा, हजुरआमा सासु दुर्घटनामा परेकाले सो घरमा काम गर्ने पुरुषसमेत छैनन्‌।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.