|

काठमाडौं : कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। स्वर्गीय शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। 

हिम चितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको थियो। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। 

त्यही अनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा राखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे।

पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी लगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। स्व शेर्पाले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनका तीन छोरा र एक छोरी छन्। आङरिताका श्रीमतीको सात वर्षअघि निधन भएको थियो।

सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो। सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। 

शेर्पाले सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.