|

हेटौंडा ः बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि पास गरेको छ।

कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्‍न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए। 

कृषि विकास बैंक मार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ। लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिहरूलाई रोजगारमा आबद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरिने मन्त्री ढुङ्गेलले जानकारी दिए। 

सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ। 

यसैगरी ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको छ। 

प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय,पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग,महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको छ।

यसै गरी बिहिबार नै बसेको बैठकले प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पुर्वाधार, विधेयक, सङ्गठनात्मक संरचना, तथा पाठ्यक्रमको आधारभूत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय समेत गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री ढुङ्गेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.