|

बैतडी : बैतडीका तीन स्थानीय तहमा पठनपाठन शुरू गरिएको छ। कोरोना महामारीका कारण बन्द रहेका विद्यालयमा पठनपाठन थालिएको हो।

जिल्लाको पुर्चौंडी नगरपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरू भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए। शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा स्वास्थय सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएका उनले बताए  । 

नगरपालिकाका ७५ वटा सामुदायिक विद्यालयमध्ये ३९ वटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका थियो। ती विद्यालयलाई निसंक्रमण र सरसफाई गरेपछि सञ्चालनमा ल्याइएको हो। लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्ने भएकाले केही दिनअघि बसेको बैठक बसी विद्यालय खोल्ने निर्णय गरिएको थियो। 

यस्तै, जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाले यही असोज ४ गतेदेखि विद्यालयमा पठनपाठन शुरू गरेका छन्। कोरोनाका कारण बन्द रहेका विद्यालयहरूमा पठनपाठन सुचारु गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।

बालबालिकाहरूको पठनपाठनमा असर नपरोस् भनेर स्वास्थ्य सुरक्षाका मापदण्डसहित विद्यालय सञ्चालनमा ल्याइएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले बताइन्‌।

सुर्नया गाउँपालिकाले पनि लामो समयदेखि बन्द रहेका विद्यालय खोल्ने तयारी गरेको छ। क्वारेन्टाइन र आइसोलेसन बनाइएका गाउँपालिकाभरिका विद्यालयहरूमा निसंक्रमण र सरसफाइको काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए। 

मेलौली नगरपालिकाले पनि केही दिनभित्रै विद्यालय सञ्चालनको तयारी गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए। यस्तै, जिल्लाको डिलाशैनी गाउँपालिकामा पनि विद्यालय सञ्चालनका लागि निसंक्रमण गर्ने काम सकिएको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि विद्यालय सञ्चालनको तयारी गरेको छ। शिक्षणका वैकल्पिक विधी अपनाएर विद्यालय सञ्चालन तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिएका छन्‌।

बैतडीमा हालसम्म ३९० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १३ जनामात्रै सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.