|

बैतडी : जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा स्वाब नै आउन छाडेको छ। गएको २४ घण्टामा १ जनाको पनि पिसिआर परीक्षण नभएको प्रयोगशालाले जनाएको छ। जिल्लाका कुनै पनि स्थानीय तहबाट स्वाबको नमुना आएका छैनन्। 

जिल्ला अस्पतालको प्रयोगशालामा दैनिक ३ सय बढीको पिसिआर परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले बताए।  यसअघि संकलित नमुना सकिएपछि प्रयोगशालामा परीक्षणको कार्य रोकिएको हो। 

हाल मापदण्ड बनाएर स्वाब संकलन कार्य भइरहेको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  उनले भने, ‘सरकारले पनि भारतबाट फर्किएका र लक्षण  देखिएकाको मात्रै परीक्षण गर्न भनेकाले स्वाब संकलन कार्य हुन सकेको छैन।’

समुदायस्तरमा जोखिममा रहेका व्यक्तिको एक चरणमा परीक्षण गर्ने कार्य सम्पन्न भएकोले हाल नमुना संकलन रोकिएको हो। तर संक्रमित व्यक्ति र संक्रमितका सम्पर्कमा आएकाको नमूना संकलन गरी परीक्षण कार्य भइरहेको हो। 

भारतबाट फर्किनेको संख्या पनि कम हुँदै गएकोले स्वाब संकलनको काम पनि कम भएको जनाएको छ। प्रदेश सरकारको ४० लाख सहयोगमा बैतडीका यही असोज १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको थियो। असोज १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको भए पनि रिपोर्ट सार्वजनिक भने असोज ४ देखि सुरु गरिएको थियो। सोबीचको अवधि प्रयोगशाला प्रमाणीकरणको काम गरिएको थियो। 

हालसम्म बैतडी प्रयोगशालामा १९३ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमध्ये ४ जनाको मात्रै पिसिआर पोजेटिभ आएको जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिए।  

बैतडीमा हालसम्म ३ सय ९० जनामा कोरोना पुष्टि भइसकेको छ।  कुनै बेला शून्य संक्रमित भएको बैतडीमा हाल भने १३ जना छन्। बाँकी ३ सय ७७ संक्रमित कोरोनामुक्त भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.