|

कञ्चनपुर : महाकाली आयुर्वेद औषधालय भीमदत्तनगरमा उपचारका लागि पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको छ। कोरोना भाइरस महामारीका बेला औषधालयको बहिरङ्ग (ओपिडी) सेवा लिनेको संख्या बढेको हो।

चालु आर्थिक वर्ष शुरू भएयता हालसम्म औषधालयको ओपिडीमा सेवा लिनेको संख्या एक हजार नाघेको छ। आर्थिक वर्ष २०७६/७७ मा सात हजार जनाले ओपिडी सेवा लिएका थिए। अघिल्लो आर्थिक वर्षमा छ हजारले औषधालयको ओपीडी सेवा लिएका थिए।

औषधालयका प्रमुख डा. ओमप्रकाश कलौनीले कोरोना महामारी फैलिएका बेलामा पनि आफूहरूले सेवा नियमित सञ्चालन गरिएको बताए। ‘औषधालयमा सेवा लिन सेवाग्राहीको संख्या अघिल्लो वर्ष भन्दा बढी नै रह्यो,’ उनले भने, ‘कोरोनाले त्यसमा खास असर पारेन।’

औषधालयमा सेवा लिनेको संख्याले आयुर्वेदमा आकर्षण बढेको देखिएको डा. कलौनीले बताए। ओपिडीमा स्वास्थ्य चेकजाँच गरी औषधालयबाट निःशुल्क औषधि दिने व्यवस्था गरिएको छ।

औषधालयमा हाडजोर्नी दुख्ने, ग्याष्ट्रिक, कब्जियत, नशा र छालासम्बन्धी समस्याका बिरामी धेरै आउने गरेका छन्‌। औषधालयमा डा. कलौनी सहित छ जना कर्मचारी कार्यरत छन्‌।

औषधालयले ओपिडी बाहेक पञ्चकर्म सेवा पनि सञ्चालन गर्दै आएको छ। पञ्चकर्म सेवामा पनि सेवाग्राहीको संख्या थपिँदै गएको छ। दैनिक पञ्चकर्म सेवा लिने बिरामीको संख्या तीन देखि चार जनासम्म रहने गरेको छ।

औषधालयले बर्सेनि जिल्लाका अन्य भागमा समेत विस्तार गर्दै आएको छ। शुक्लाफाँटा नगरपालिकामा कविराज वैद्यको नेतृत्वमा आयुर्वेद सेवा उपलब्ध हुँदै आएको छ। यसैगरी, बेलडाँडी र लाल झाडीसम्म आयुर्वेद सेवा विस्तार गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.