|

बैतडी : बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन भएको २ वर्ष बढी भइसकेको छ।

केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टमका लागि समेत समस्या भएको छ। पोष्टमार्टम गराउन पाटन पुर्‍याउनुपर्ने अथवा डाक्टरलाई मेलौली बोलाउनुपर्ने बाध्यता रहेको केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान् दयालले बताए।

उनले भने, ‘शव पोष्टमार्टका लागि सबैभन्दा बढी झन्झट हुने गरेको छ। मेडिकल अधिकृत नहुँदा शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम तथा पाटन पुर्‍याउनुपर्ने बाध्यता एकातिर छ। अर्कोतिर मान्छेहरू पीडामा हुन्छन्। शव पोष्टमार्टम गर्ने डाक्टर नहुँदा रिसाउने गरेका छन्।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे, इसिजी र अल्ट्रासाउण्ड लगायतका सेवाहरू हुनुपर्छ। तर जनशक्ति अभावमा यी सेवाहरू प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरले दिन सकिरहेको छैन।

स्थापना भएको १६ वर्षपछि डाक्टर पाएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र गएको एक वर्षयता पुन: डाक्टर विहीन भएको हो। एकजना मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडका स्थानीयलाई निकै समस्या भएको छ। २०७४ फागुनदेखि डाक्टर विहीन बनेको दयालले जानकारी दिए। 

लकडाउनमा यातायात समेत बन्द भएका बेलासमेत आकस्मिक बिरामीहरूलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन निकै समस्या भएको स्थानीयहरूले बताएका छन्। हातखुट्टामा चोट लागेका धेरै बिरामी आएका र उनीहरूलाई रेफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक दयालले बताए। उनले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी छ। तर त्यो दरबन्दी डाक्टर छैनन्। डाक्टर नहुँदा हामीहरूलाई धेरै समस्या भएको छ।’

केन्द्रमा डाक्टर नहुँदा सीमावर्ती भारतीय बजारमा समेत लकडाउनका कारण स्थानीयहरू उपचारका लागि जान नसकेको स्थानीय सुरेन्द्रबहादुर चन्दले जानकारी दिए। सम्बन्धित सेवाका दक्ष चिकित्सक नहुँदा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता रहिआएको र हाल महामारीका कारण अन्यत्र जान पनि सकिने अवस्था नरहेको चन्दको भनाइ छ।

लकडाउनका बेला महंगोमा एम्बुलेन्स बुकिङ गरेर सुविधा सम्पन्न अस्पतालहरूमा पुग्नुपरेको स्थानीयले बताएका छन्। डाक्टर अभावमा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एक्सरे, इसिजी लगायतका मेसिनहरू प्रयोगविहीन भएका छन्।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा स्वास्थ्य बीमा गराएका नागरिकहरू पनि उपचार सेवाबाट बञ्चित भएका छन्। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक मारमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.