|

सल्यान : सल्यानका स्थानीय पालिकाहरूले क्‍वारेन्टाइन हटाएर विद्यालय निर्मलीकरण गर्न थालेका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम सल्यानका विद्यालय हातामा सञ्चालित क्‍वारेन्टाइन हटाएर निर्मलीकरण गर्न थालिएको हो। 

बसेका सबै घर फर्किएपछि खाली भएका क्‍वारेन्टाइन निर्मलीकरण गरिएको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए। उनले भने, ‘विद्यालयमा निमार्ण गरिएका क्‍वारेन्टाइन खाली भएपनि अब आउनेलाई अन्यत्र व्यवस्थापन गर्नेगरी विद्यालय निर्मलीकरण गर्दै आइरहेका छौं।’

आउँदै गरेको चाडपर्वलाई लक्षित गरी खुला ठाउँ तथा सामुदायिक भवनहरूमा क्‍वारेन्टाइन निमार्ण गर्नेगरी विद्यालयमा बनाइएका क्‍वारेन्टाइन हटाइएको उनको भनाई छ। विद्यालय कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषय छलफलमै रहेको बताउँदै तयारी स्वरुप क्‍वारेन्टाइन हटाइ निर्मलीकरण गरिएको उनले बताए। 

यस्तै, कुमाख गाउँपालिकाले पनि विद्यालयमा निमार्ण भएका क्‍वारेन्टाइन हटाएर निर्मलीकरण गर्दै आइरहेको छ। गाउँपालिकाका विद्यालयमा रहेका क्‍वारेन्टाइन सामुदायिक भवन तथा सार्वजनिक भवनहरूमा स्थानान्तरण गरी सेनिटाइज गरिएको गाउँपालिका सूचना अधिकारी प्रकाश भण्डारीले बताए। गाउँपालिकाभित्रका विभिन्न २१ विद्यालयमा निमार्ण गरिएका क्‍वारेन्टाइन हटाइएको र अब एक विद्यालयबाट मात्र हटाउन बाँकी रहेको भण्डारीको भनाई छ। क्‍वारेन्टाइन कक्ष राखेका र नराखेका सबै विद्यालयमा निर्मलीकरण गरिएको उनले जानकारी दिए। 

विद्यालयमा निमार्ण गरिएका क्‍वारेन्टाइनहरू अन्यत्र व्यवस्थापन गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। सल्यानमा १ सय ५५ विद्यालयमा क्‍वारेन्टाइन र आइसोलेसन निमार्ण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.