|

पर्वत : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्र धारामा दिनहुँ झरिरहने पहिरोले यात्रुदेखि सवारी चालक र ट्राफिक प्रहरीलाई हैरान पारिरहेको छ।

बागलुङ, म्याग्दी र मुस्ताङमा सवारी आउजाउ गर्ने तथा राष्ट्रिय राजमार्गमा जोड्ने एक मात्र सडकका रूपमा रहेको पोखरा–बागलुङ सडकमा सामान्य वर्षा भए पनि पाँच सय मिटर माथिबाट पहिरो खस्न थालिहाल्छ। शुरूमा सडकमाथिबाट आएको विशाल ढुङ्गा खसेपछि अवरुद्ध भएको सडक भदौ २७ गते रातीको वर्षाका कारण गेगर र लेदोसहितको पहिरो खस्दा फेरि लामो समयसम्म बन्द भयो।

मिहिनेतका साथ काम गरेर एकतर्फी रूपमा बाटो सञ्‍चालन गराइएपनि पनि रातीमा आएको पहिरोले पुनः तीन सदनसम्म सडक अवरुद्ध बन्यो। वर्षा रोकिएको बेला ट्राफिक प्रहरीको सक्रियतामा सडक खुलाइएपनि पनि पहिरो झर्ने क्रम नरोकिँदा हरेक दिन सडक अवरुद्ध हुने गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काका अनुसार यसअघि पटक-पटक अवरुद्ध भइरहेको सडक बुधवार रातीको पहिरोले फेरि अवरुद्ध बनेको छ।

‘अस्ति रातीको पानीले बाटो रोक्यो, हिजो दिनभर खटेर साढे चार बजेतिर सडक सफा गरिएको थियो। पहिरो झर्न रोकिएन, राती ८ बजेबाट आवागमन फेरि रोकियो। यति बेलाको काम भनेको रातभरि पहिरोले पुरेको सडकलाई दिनभरिमा सफा गर्ने मात्र भएको छ,’ उनले भने, ‘करिब दुई सातादेखि सहस्र धारामा सामान्य वर्षा हुँदा पनि पहिरो खसिरहेको छ, दिनभर खटेर पन्छाउँछौ, रात भरमा पुरिदिन्छ।’ बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट पर्वत हुँदै पोखरा र अन्य ठाउँमा आउजाउ गर्नेका लागि यही सडक एकमात्र उपाय रहेकोले बाटो खुलाउनै पर्ने अवस्था रहेको उनको भनाई छ।

पहिरोका कारण बागलुङ, म्याग्दी र मुस्ताङका लागि खाद्यान्न लगायतका अन्य बस्तु बोकेर जाने सवारीहरू पर्वत सदरमुकाम कुश्मा र पहिरो नजिकैको क्षेत्र सहस्र धारामा रोकिने भएकोले ट्राफिक प्रहरीको हरेक दिनको खटाई पहिरोस्थलमा हुने गरेको छ। बाटो खोल्न नसकेमा बागलुङ, म्याग्दी र मुस्ताङबाट थप उपचारका लागि पोखरा वा अन्यत्र पठाइएका बिरामीको ज्यानै समेत जानसक्ने जोखिम रहन्छ।

बुधवार राती ८ बजेबाट बन्द रहेको सडक खुलाउन ट्राफिक प्रहरीको टोली बिहीबार बिहानैदेखि पहिरो स्थलमा खटिएको छ। ट्राफिक प्रहरी प्रमुख खड्काका अनुसार बिहीबार पनि हरेक दिन जस्तै एक्स्काभेटर लगाएर गेगर हटाउने काम भइरहेको छ।

वर्षा नरोकिएका कारण पहिरो झरिरहे पनि सडकलाई एकतर्फी रूपमा खुलाउनै पर्ने बाध्यताका कारण बिहानैदेखि पहिरो पन्छाउन लागिएको उनले बताए। थप वर्षा नभएमा बिहीबार अपराह्नसम्ममा यातायात आवागमन शुरू गर्न सकिने खड्काले जानकारी दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.