कञ्चनपुर : किसानहरूले यो वर्ष कोरोना महामारी झेल्दै बल्लतल्ल धान रोपे। असार-साउनमा रोपेको धान यतिखेर भित्र्याउने बेला भएको छ। तर, काटेर राखिएको धानको पाँजा पानीमा चुर्लुम्मै डुबेपछि यतिखेर किसानहरू मर्कामा परेका छन्।
खैरो फड्के कीराबाट बल्लतल्ल जोगाइएपनि यतिखेर लगातार पानी परेपछि काटेर राखेको धान निथ्रुक्कै भिजेको छ। बुधवार रातीदेखि यहाँ पानी परिरहेको छ।
खेत जलमग्न भएको महाकाली नगरपालिकाका किसान मनिलाल भट्टले बताए। ‘१० कठ्ठा खेतमा काटेको धान पूरै भिजेको छ,’ उनले भने, ‘पाकेपनि पानीका कारण धान काट्नसक्ने अवस्था छैन।’ धानखेत जलाम्ये भएको र पाकेको धान भित्र्याउन पाइने/नपाइने अन्योल रहेको उनको भनाई छ।
पानीले भिजाएका कारण पाकिसकेको धान खेतमै कुहिने अवस्था आएको शुक्लाफाँटा नगरपालिकाको कालागौंडीका किसान नबल सिंह रानाले बताए। उनका अनुसार तीन दिनदेखि निरन्तर वर्षा भइरहेकाले काटेको धानबाली जोगाउन मुस्किल परेको छ। उनले भने, ‘सुकाउनका लागि अन्यत्र लैजान सकिने अवस्था नभएकाले मार्कामा परेका छौं,’ उनले भने।
आकासमा अझै वर्षा गराउने बादल रहेकाले पानी परिरहने संकेत देखिएको तथा धानबाली जोगाउन निकै सकस भएको किसानहरूले बताएका छन्। भीमदत्त नगरपालिका क्षेत्रका केही किसानको खेतमा काटेको धान वर्षाको पानीले बगाइदिएको छ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले अन्य बाली जस्तो धानबालीमा वर्षाको पानीका कारण धेरै नोक्सानी नहुने बताए। किसानले काटेको धान बग्नबाट जोगाउनुपर्ने उनको भनाई छ। फड्के कीरालाई वर्षाको पानीले बगाउने भएकाले धानबालीमा कीराकै कारण भैरहेको नोक्सानी कम हुने उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।