|

ताप्लेजुङ : विराटनगरको नोबेल अस्पतालमा उपचार गरी घर फर्किएका ताप्लेजुङका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। 

फक्ताङलुङ गाउँपालिका का ८० वर्षीय ती वृद्ध दमको समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ हुँदै झापाको कन्काई र विराटनगरको नोबेल अस्पताल पुगेका थिए। साेही अस्पतालमा सामान्य उपचार गरी उनी असोज ४ गते घर फर्किएका थिए।

नोबेल अस्पतालले उपचारका लागि पुगेका ती वृद्धको स्वाब संकलन गरेको थियो। सो स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। 

जिल्ला अस्पताल ताप्लेजुङमा १०/११ दिनसम्म उपचारमा रहेका वृद्धलाई थप उपचारका लागि असोज ३ गते झापाको कन्काईमा लगिएको थियो। कन्काईमा जाँच गर्दा मुटुको समस्या देखिएपछि नोबेलमा पुर्‍याइएको थियो।

एम्बुलेन्समार्फत सदरमुकाम फुङलिङ आएका ती वृद्ध आफ्नी बहिनीकहाँ बसेको र भोलिपल्ट असोज ६ गते भाडाको गाडीमा छिरुवा फर्किएको बताइएको छ। ती वृद्ध सो गाडीमा अन्य १३ जनासँगै यात्रा गरेका खुलेको छ। सो गाडीमा १३ जना यात्रु चढेको बताइएको छ। १३ मध्ये चार जना लिङ्खिममा ओर्लिएको स्रोतले बतायो।

६ जनाको परिवारसँगै बसोबास गर्ने वृद्धको फक्ताङलुङ गाउँपालिका–५ छिरुवामा गेष्ट हाउस समेत रहेको बताइएको छ।

कोरोना पुष्टि भएको खबरसँगै कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए। ती वृद्धलाई लिनका लागि सदरमुकामबाट गाडी पठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंले जानकारी दिए।

यता फुङलिङस्थित प्राईम बैंकका एक कर्मचारीले समेत आफूलाई कोरोनाको शंका लागि स्वाब संकलन गराएकाले रिपोर्ट नआउन्जेल उक्त बैंक सिल गरिने डिएसपी श्रेष्ठले जानकारी दिए। सबैलाई सजगता अपनाउन उनले आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.