भन्छन्, अस्पतालबाट कोरोना आयो, घरमा बसेर जित्यौं

|
कोरोनामुक्त भट्टराई परिवार

विराटनगर : मोरङ लेटाङका एकै परिवारका १२ जना कोरोनामुक्त भएका छन्। लेटाङ–२ फडानीका ८० वर्षीय अन्नतराम भट्टराईको १२ जनाको परिवार २९ दिनपछि कोरोनामुक्त भएका हुन्।

कोरोनामुक्त हुनेहरुमा ६ वर्षदेखि ८० वर्ष उमेर समूहका रहेका छन्। जसमा अन्नतरामसहित उनकी श्रीमती ८० वर्षीय भगिरथा, दुई छोराहरु हेरम्बराज र पितम्बरका परिवारका सदस्य रहेका छन्। 

६० वर्षीय हेरम्बका परिवारका ८ जना सदस्यमा कोरोना संक्रमण भएको थियो। ४० वर्षीय पितम्बरसहित श्रीमती र छोरा छोरी गरी ४ जनामा संक्रमण भएको थियो। भट्टराईको परिवारमा संक्रमण पृष्टि भएपछि उनीहरु आफै घरमा होम आसोलेसनमा रहेका  थिए। २९ दिनको होम आइसोलेन बसाइपछि बुधबार कोरोनामुक्त भएको हेरम्ब भट्टराईले जानकारी दिए।

भट्टराईकाअनुसार दुई पटकको पीसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। गएको भदौ १२ गते भट्टराईका परिवारका सदस्यहरूमा कोरोना पुष्टि भएको थियो।

जसमा १४ दिनको होम आइसेलेसनपछि परिवारका पाँच जना सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो। थप सात जनाको रिपोर्ट पहिलो पटकमा पोजेटिभ आएपछि थप १४ दिन उनीहरु आइसोलेसनमा बसेका थिए।

बुधबार गरिएको पीसिआर परिक्षणमा थप सात जनाको पनि रिपोर्ट नेगेटिभ आएका भट्टराईले बताए। संक्रमित भएर होम आइसोलेसनमा बसेका उनीहरुको स्वास्थ्यको बारेमा सोही वडाका वडाअध्यक्ष तेजप्रसाद तिम्सिनाले समन्वय गरेका थिए।

‘लेटाङ नगरपालिकाका स्वास्थ्यकर्मीले समय–समयमा फोन गरेर स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने काम निरन्तर भई रह्यो,’ कोरोनामुक्त भएका भट्टराईले भने, ‘स्वास्थ्यकर्मीको सल्लाह र सुझाव अनुसार खानपान र स्वास्थ्य सावधानमा सबैले विशेष राखौं।’ 

भट्टराईले ८० वर्षीय बुबा आमासहित परिवारका १२ जना सदस्यमा एकै पटक कोरोनाको संक्रमण पुष्टि हुँदा धेरै तनाव हुन पुगेको अनुभव सुनाए। पूर्व शिक्षक रहेका भट्टराईले तरपनि आफुले कहिले हिम्मत नहारेको र वृद्ध वृद्धा बुबा आमालाई पनि आत्मबल दह्रो बनाउने सधै आफुले प्रेरित गरिरहेकाले आज सबै परिवार संक्रमणमुक्त हुन सफलता मिलेको उनको अनुभव छ।

संक्रमणको स्रोत अस्पताल

एकै परिवारका १२ जना सदस्यलाई कोरोना संक्रमणको स्रोत विराटनगरको अस्पताल बनेको छ। ८० वर्षीय अन्नतराज भट्टराईलाई स्वास्थ्यमा समस्या भएपछि उनीहरुले साउन १८ गते भट्टराईलाई विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो।

दुई दिनको नोबेल अस्पतालको बसाई पछि पुनः उनीहरुले बुवालाई विराटनगरकै अर्को अस्पताल विराट मेडिकल कलेजमा भर्ना गराएका थिए। अन्नतराजको २२ गते विराट मेडिकल कलेजमा प्रोष्टेडको शल्याक्रिया भएको थियो।  शल्यक्रियापछि अन्नतराजलाई अस्पतालले साउन ३० गते डिस्चार्ज दिएको थियो। बुवासँगको अस्पतालको सम्पुर्ण बसाइमा उनका दुई छोरा हेरम्बराज र पितम्बरले रेखदेख खटिएका थिए।

लेटाङस्थित आफनो घरमा ३० गते पुगेका भट्टराई परिवारका सदस्य मध्य अस्पताल बसेका हेरम्बराजलाई भदौ २ गते सामान्य ज्वरोसँगै रुघाखोकी लागेकोे थियो।
हेरम्बराजलाई कोरोनाको आशंका लागेर सोही वडाका वडा अध्यक्षलाई पिसिआर टेष्टको लागि समन्वय गरेर भदौ ८ गते स्वाब दिएका थिए। यो बीचमा उनका घरका अन्य परिवारका सदस्यमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वास्थ्यमा सामान्य समस्या हुन थालेका थियो।

यसैबीच भदौ १२ गते हेरम्बराजको पीसिआर रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि घरका अन्य परिवारका अन्य १४ जनाको एकै साथ पीसिआर टेष्ट गरिएको थियो ।

१४ जनाको पीसिआर टेष्टको रिपोर्टमा हेरम्बराजको श्रीमती इन्दिरा, कान्छी छोरी विनिता र नाति सहादराजको नेगेटिभ आएको थियो। ८० वर्षीय घरमूली अन्नतराम श्रीमती भागिरथासहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको रिर्पोट आएको थियो।

‘हाम्रो परिवारका १२ जनाको संक्रमणको स्रोत व्यक्ति मबाट देखियो’, हेरम्बराजले भने, ‘बुबाको उपचारको क्रमको अस्पताल बसाइमा मलाई संक्रमण भएको देखिन्छ।’ हाम्रो परिवारको संक्रमणको स्रोत व्यक्ति म भएपनि मेरो संक्रमणको स्रोत अस्पताल बनेको छ।’

उनले बुवाको उपचारका क्रममा अस्पताल बसाइका क्रममा आफूलाई  संक्रमण भएको हुनसक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.