पाल्पा : पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ।
रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाकी २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले बताए। उनी गर्भवती भएको बुझिएको छ।
उनकाअनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ। पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका उनले बताए। बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्।
तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा उनीहरू पुरिएका हुन्। अहिले सुरक्षाकर्मी र स्थानीयले उद्धार गरिरहेका छन्। आफ्नो नेतृत्वमा थप सुरक्षाकर्मी गएको गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए।
घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न र उद्धारमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। बाटोमा डोजर परिचालन गरेर थप सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए। पानी परिरहेकोले अहिलेसम्म उनीहरूको उद्धार कार्यमा कठिन भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।