|

काठमाडौं : कोरोना भाइरस संक्रमण बढिरहे पनि देशका विभिन्न स्थानका विद्यालयहरुमा धमाधम पठनपाठन सुरु भएको छ। 

गत चैतदेखि सबै स्कुल र विश्वविद्यालय बन्द छन्। लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ रोकिएपछि स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालयहरु धमाधम  सञ्चालनमा आउन थालेका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरेको आधारमा विद्यालय सञ्चालनमा आउन थालेको हो। 

गुल्मीको मदाने गाउँपालिका–१ अगुलङफेदीस्थित श्री रघुफेदी प्रतिमान निम्न माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएको छ। मदाने गाउँपालिका–१ का वडाध्यक्ष प्रेमचन्द बोहोराले स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिएको बताए। ‘कोरोना महामारीले लामोसमयसम्म विद्यालय बन्द रहँदा शिक्षण सिकाइ रोकियो,’ उनले थाहाखबरसँग भने, ‘त्यसैले वडामा स्कुल सञ्चालनका लागि स्वीकृति मागेका थिए। अहिले ती स्कुलले पठनपाठन सुरु गरेको छ।’ उनका अनुसार कक्षामा भएका विद्यार्थीको अनुपातको आधारमा दुई मिटर दूरी कायम गराई कक्षा कोठामै पढाइएको छ। 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले पनि गत सोमबारदेखि निजी र सामुदायिक विद्यालय सञ्चालन गर्ने अनुमति दिएसँगै नगरभित्रका विद्यालयले पठनपान सञ्चालन गरेका छन्। नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले भनिन्, ‘नगरपालिकाले अभिभावक,विद्यालय व्यवस्थापन समिति, प्याब्सन र सरोकारवाहरुसँगको छलफलपछि सोमबारबाट कक्षा कोठामै स्वास्थ्य मापदण्ड अपनाई पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छौँ। रोटेशनको आधारमा विद्यालयले स्कुल सञ्चालन गर्नुपर्ने छ।’

उनका अनुसार पहिलो चरणमा कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीलाई विद्यालयमै पढाइने निर्णय भएको छ। सबै विद्यार्थीहरुले अनिवार्य मास्क, पञ्जा लगाएर मात्रै विद्यालयमा प्रवेश गर्न पाउने छन्। नगरपालिकाभित्र ३९ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय छ।
  
बैतडीको कोरोना संक्रमितमुक्त शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छन्। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार गत आइतबारदेखि गाउँपालिकाका ३७ वटा सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गरिएको छ। डिलाशैनी गाउँपालिकामा पनि विद्यालय सञ्चालनका लागि निसंक्रमण गर्ने काम सकाएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि विद्यालय सञ्चालनमा ल्याउन थालेको छ। 

मोरङमा पनि सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थालेका छन्। केराबारीको बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपालमान कार्कीका अनुसार न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराई विद्यालय सञ्चालन गरिएको छ। 

‘कक्षाका विद्यार्थीलाई दुई वटा कोठामा राखी पढाउन थालिएको छ,’ उनले भने, ‘विद्यालयको मुख्य प्रवेश द्वारमा स्यानिटाइजर राखिएको छ। सबैले मास्कको प्रयोग गरेका छन्। फेस सिल पनि लगाउने गरेका छन्।’ उनका अनुसार दुई दिन विद्यार्थी आएर पाँच दिनको गृहकार्य दिएर पठाइन्छ। विद्यालयमा कुल विद्यार्थीको संख्या ४५० रहेका छन्। 

त्यस्तै, दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु असोज ४ गतेदेखि सञ्चालनमा आएका छन्। गाउँपालिकाका अनुसार पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार पठनपाठन सुरु भएको छ। 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले असोज ११ गतेदेखि जोरबिजोर प्रणालीबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख कृष्णहरि थापाले भने, ‘लकडाउनका कारण समयदेखि विद्यालय बन्द छन्। धेरै बालबालिकाको पढाई रोकिएको छ। वैकल्पिक माध्यमबाट कक्षाकोठा जस्तो प्रभावकारी हुँदैन। त्यसैले स्कुलले विद्यार्थीहरूलाई २ देखि ३ सिफ्टमा विभाजन गरी स्कुलमै पठनपाठन गराउने निर्णय गरिएको हो।’

उनका अनुसार पहिलो चरणमा असोज ११ गतेदेखि असोज २५ गतेसम्म जोरबिजोरबाट कक्षा सञ्चालन गरिने छ। पहिलो चरणमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइने छ। 

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुरस्थित शिव सुन्दर आधारभूत विद्यालयमा पनि पठनपाठन सुरु भएको छ। वडाध्यक्ष पदमबहादुर खड्काका अनुसार विद्यायलमा सहज सिकाइका लागि विद्यार्थी बोलाउने गरेको छ।

‘लामो समयदेखिको बन्दाबन्दीले धेरै विद्यार्थीको पढाई रोकिएको छ,’ उनले भने, ‘केही शिक्षण सिकाइका लागि स्वास्थ्य मापदण्डसहित विद्यालयले विद्यार्थीलाई  बोलाउन थालेको छ।’

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित श्री भगवती माविमा पनि सहज सिकाइका लागि विद्यार्थीलाई बोलाएको छ। असोज ४ गतेदेखि विद्यार्थी सिकाइ सहजीकरण गर्ने  भएकाले स्कुलले जनप्रतिनिधि, अभिभावक, शिक्षाप्रेमी, वुद्धिजीवीले विद्यार्थी केन्द्रसम्म सुरक्षित र भयरहित आइपुग्ने वातावरण निर्माण गर्न सूचना समेत जारी गरिसकेको छ। 

त्यस्तै, ताप्लेजुङको दोखुस्थित महाराजा आधारभूत विद्यालय, सिरहाको धनगडिमाई नगरपालिका–१२ स्थित  जनकल्याण निमावि, बाग्लुङको तंग्रामस्थित धारा मावि, इलामको बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा स्वास्थ्य मापदण्ड अपाउँदै विद्यालय सञ्चालनमा आएका छन्। 

मुस्ताङ जिल्लामा पनि मंगलबारदेखि विद्यालय खुल्न थालेको छ।त्यस्तै तनहँुको व्यास नगरपालिकाले पनि असोज ११ गतेदेखि गरभित्र रहेका सबै विद्यालय पठनपाठन खुल्ला गराउने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.