|

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत् प्राधिकरणमा एक कार्यकाल बिताएर बिदा भएका कुलमान घिसिङबारे छलफल भइरहेको बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितलाई बिहीबार मन्त्रालयमा बोलाएर विद्युत् आपूर्ति नियमित बनाउन निर्देशन दिँदै उनले यस्तो भनेका हुन्। केही दिनयता विद्युत् आपूर्तिमा गडबडीको जनगुनासो आएपछि मन्त्री पुनले प्राधिकरणको नेतृत्वलाई नै मन्त्रालयमा बोलाएका थिए।

मन्त्री पुनले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको पनि स्पष्ट पारेका छन्। 

‘मैले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थिएँ’, उनले भने, ‘त्यसबारे छलफल भइरहेको छ। तपाईंहरुले मूल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्नुहोला।’

उनले निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त हुँ भन्ने सोच नराखी काम गर्न पनि निर्देशन दिए। 

‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्’, उनले भने, ‘तपाईं अर्को व्यवस्था नहुञ्जेलसम्म पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ।’ 

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको पनि बताएका छन्। 

उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे।

मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत् प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.