|

कपिलवस्तु : कपिलवस्तुको जितपुर फ्युज सेवामा काम गर्ने परशुराम चौधरीले पौडिन जानेका थिएनन्। चौधरीसहित ६ जना सवार जिप बुधबार दिउँसो ४ बजे बाणगंगा नगरपालिकाको कोइली खोलाले बगाएको थियो।

जिप डुब्न लागेको थियो। उनीसहित ४ जना पछाडिको सिटमा थिए। सिसा बन्द नगरी झ्याल लागेको थियो। अर्को छेउमा बसेका २ जना झ्यालबाट बाहिर निस्किन लागेको देखेपछि उनले पनि त्यही जुक्ति निकाले। पौडिन नजाने पनि बाँच्नका लागि अरू उपाय भएन। जोखिम लिएर जिपबाट बाहिर निस्किए। पौडिन नजाने पनि बाढीमा निस्किएका चौधरी बाँच्न सफल भए।

‘जिपले बाटो छाडेपछि मेरो होस उडेको थियो। मलाई पौडी खेल्न आउँदैन। त्यही पनि कसैले बचाउला कि भनेर ढोकाबाट बाहिर निस्किएँ। बाढीको बेगले मलाई एक्कासि हुत्यायो। बगाउँदै जाँदा रुखको हाँगा समाउन पुगेछु। त्यसपछि कसले आएर उद्धार गर्‍यो केही याद छैन,’ चौधरीले बताए।

जिपमा बाणगंगा ९ मा रहेको भर्तापुर आधारभूत विद्यालयमा पढाउने शिक्षिका कोपिला अधिकारीसमेत थिइन। उनलाई समेत पौडिन आउँदैन थियो। जिप कजबे तर्दै गर्दा कोपिलाका आँखा डरले बन्द थिए। आँखा खोल्दा जिपलाई बाढीले बगाइसकेको थियो। पौडिन नजान्ने भए पनि छेउमा बसेका विजय पोख्रेलको कपडा समाएर जिप बाहिर निस्किइन् उनी। खोलाको भेलले हुत्याएर छेउमा पुर्‍याएपछि स्थानीयले उद्धार उनलाई गरेका थिए।

कसरी भएको थियो घटना ?

‘बाणगंगा ९ भल वाडतिर विद्युत् मर्मत गरी कार्यालय फर्किन लागेका थियौँ। लगातार पानी परेको थियो। कोइली खोलामा बाढी आउँदा कजवेका आरपार गर्न नसकी मानिसहरू अलपत्र परेका थिए। डेढ घण्टाको सम्म पर्खियौँ, दिउसोको ४ बजेको थियो। पानीको बहाव कम भएपछि केही मानिस पैदल हिँडेर खोला तर्न सुरु गरे। त्यो देखेपछि हामी पनि जिप पार हुन सक्ने अनुमान लगायौं। खोला पार गर्न डराएका दुई जना जिपमा चढेका चढेका थिए,' चाैधरीले भने। 

उनी भन्दै गए, 'कजवे पार गर्न डेढ मिटर बाकी थियो। जिपले बाढीको वेग काट्न सकेन। ‘चालकले जिप जोगाउन प्रयास गरेका थिए। स्टेरिङ मोडिरहेका थिए। तर बाढीको वेग अगाडि केही सिप लागेन। बिस्तारै जिप पछाडि धकेलियो। केही क्षणमा जिप कजवेबाट खोलामा बगायो।'

घटनामा गुल्मी उपल्लो तम्घास बस्ने सवारी चालक माधव पाण्डे र अर्घाखाँची शितगंगा नगरपालिका १२ का केशव भाट क्षत्रीको मृत्यु भएको थियो। सवारी चालक पाण्डेको शव घटना स्थलमा र क्षत्रीको शव घटना स्थलदेखि ४ किमि दक्षिण भगलापुरमा बिहीबार फेला परेको थियो। जिपसँगै बगेका जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल अझै बेपत्ता छन्।

झ्यालको सिसा नलगाउँदा ३ जना बाँचे

​विद्युत प्राधिकरणका कर्मचारी विजय पोख्रेल भन्छन्, ‘घटना सम्झिँदा ज्यान थरथर काँप्छ। बग्दै जाँदा जिप हाम्रोमाथि आइपुगेको थियो तर कसरी बचियो थाहा छैन, झ्यालको सिसा खुला भएका कारण ३ जना निस्किन सफल भएका थिए। म पौडी खेल्दै बाहिर निस्किएँ। मेरो कपडा तानेर कोपिला म्याडम जिपबाट बाहिर निस्किन सफल हुनुभयो।'

उनले फेरि भने, 'बाहिर निस्किएपछि खोलातर्फ फर्केर हेरें, जिप कतै देखिएन। केही बेरमा थाहा भयो ३ जना जिपसँगै बेपत्ता हुनुभएको रहेछ। फ्युज शाखा प्रमुख कृष्ण पौडेल, सवारी चालक माधव पाण्डे र अर्घाखाँचीका अर्का गाडीसँगै बग्नु भएको रहेछ।’

पोख्रेलले थपे, 'सशस्त्र प्रहरीले उद्धार गर्दा मैले भगवान सम्झिएँ। तर भगवानले प्रार्थना सुन्नु भएन। हामी भाग्यमानी रहेछौं ठूलो घटना हुँदा पनि बाच्न सफल भयौँ। झ्यालको सिसा लगाएको भए हामी सबैको ज्यान जान्थ्यो होला।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.