कार्यतालिकाबारे सुरक्षा निकायले बताउन चाहेनन्

|

दार्चुला : भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकै स्थापना गर्न लागिएको सशस्त्र प्रहरीको गुल्मको शिलान्यास गर्न गृहमन्त्री रामबहादुर थापा 'बादल' दार्चुलाको खलङ्गा पुगेका छन्। 

ब्याँस गाउँपालिका वडा नम्बर-१ छाङ्‍रुमा सीमा सुरक्षाका लागि निर्माण गर्न लागिएको सशस्त्र प्रहरीको गुल्म भवन शिलान्यासका लागि गृहमन्त्री थापासहितको टोली मध्यान्ह १२ बजे हेलिकोप्टरबाट खलंगा आइपुगेको हो। 

तर जिल्लास्थित सुरक्षा निकायले गृहमन्त्री थापाको कार्यतालिकाबारे जानकारी दिन मानेका छैनन्।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पनि गृहमन्त्री थापाको कार्यतालिकाबारे जानकारी दिन अस्वीकार गरे। 

छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म भवनको आजै शिलान्यास हुँदैछ। छाङ्‍रु जान गृहमन्त्री थापा, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्‍वर न्यौपाने र दार्चुलाका संसद गणेश सिह ठगुन्‍ना पनि छन्।

ब्याँस गाउँपालिकाको छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ। गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्‍रुमा  सशस्त्र प्रहरीको गुल्म स्थापना गरिँदैछ। 

तर गृहमन्त्री छाङ्‍रु जाने नजाने कुरा खुलिसकेको छैन। यसअघि छाङ‍्‍रु पुगेर फर्किएका गृहमन्त्रीका सुरक्षा सल्लाहार इन्द्रजित राई पनि टोलीमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.