सञ्चार गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समिति गठन

|

काठमाडौं : प्रतिष्ठित भनिएका केही सञ्चारमाध्यमहरूले श्रमजीवि पत्रकार र कर्मचारीहरूलाई लामो समयसम्म तलब तथा सेवासुविधा नदिएको र कोरोना महामारीकै बेला निष्काशन गर्न थालेपछि त्यस्ता सञ्‍चार गृहहरूमा आन्दोलन चर्किएको छ। पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसहित पत्रकारहरूले आन्तरिक रूपमा गठन गरेका संघर्ष समितिहरू यतिखेर श्रमको मूल्य माग्दै आन्दोलनमा छन्‌।

कोरोना महामारीलाई वहाना बनाउँदै पत्रकारहरूलाई निष्काशन गर्ने र वर्षौंदेखि न्यूनतम पारिश्रमिक समेत नदिने गरेपछि पत्रकार र त्यहाँ कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन्‌। सञ्चारमाध्यमले न्युनतम पारिश्रमिक नदिएको र कोरोना संकटमा कामबाट निकालिएको भन्दै नागरिक दैनिकका डेस्क इडिटर सुविद गुरागाईं पाँच दिने सत्याग्रह बसिसकेका छन्‌।

उनले बागदरबारमा रहेको रिपब्लिक मिडिया अगाडि असोज ५ गतेदेखि सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने, पुरानो बाँकी-बक्यौता चुक्ता गरी मासिक पारिश्रमिक दिनुपर्ने माग राख्दै सत्याग्रह बसेका थिए। श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न, कोरोनाको बहानामा श्रमजीवीलाई दु:ख नदिन, ६ महिना परीक्षणकाल पूरा गरेकालाई अनिवार्य स्थायी नियुक्तिपत्र दिन उनले माग गरेका छन्‌। पाँच दिनसम्म सत्याग्रह बसेपछि शुक्रबार उनले नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको हातबाट जुस पिएर सत्याग्रह तोडेका हुन्‌।

सत्याग्रहलाई समर्थन गर्दे पीडित पत्रकार अमृत भादगाउँले, डुक्पा छिरिङ मोक्तान, उत्तम ओझा लगायत पनि धर्नामा बसेका थिए। गुरागाईंले १५ दिनभित्रमा माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन्‌। सत्याग्रहमा बसेकै बेला गुरागाईंले आफूले पाउनुपर्ने सेवा-सुविधावापत एक लाख ७२ हजार रुपैयाँको चेक पाइसकेका छन्‌। तर, उनले व्यक्तिगत माग पूरा भएरमात्रै नहुने अडान राख्दै आएका छन्‌।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टको लगानी रहेको कारोबार दैनिकमा पनि यतिखेर आन्दोलन भइरहेको छ। त्यहाँ कार्यरत एक पीडित पत्रकारले गुरागाईंको मागलाई समर्थन गर्दै कारोबार दैनिकले पनि तत्काल बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने माग गरेका छन्‌। उनले भने, ‘हामीलाई कारोबारले बाँकी रहेको पैसा दिएको छैन। त्यसैले हामी पनि आन्दोलित छौँ। तत्काल हाम्रो माग सुनुवाई होस्‌।’

गुरागाईंको सत्याग्रहलाई समर्थन गर्दे पत्रकार महासंघ, नागरिक दैनिक, कारोबार दैनिक, अन्नपुर्ण पोस्ट, कान्तिपुर मिडिया ग्रुप, माउन्टेन टीभी, एभिन्यूज टीभी र नेपाल आज अनलाइनमा कार्यरत पत्रकार र कर्मचारी सम्मिलित २५ सदस्यीय गठन गरी ‘सञ्चार गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समिति’ नाम गठन गरिसकेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए। 

महासंघका अध्यक्ष आचार्यले कोरोना संकटमा मिडियाबाट पत्रकारहरूलाई लात हान्ने काम भएको बताए। गुरागाईंको सत्याग्रहलाई अब पत्रकार महासंघले नेतृत्व गर्ने बताउँदै उनले भने, ‘माग सुनुवाई भएन भने म आफैं मिडिया हाउसमा गएर अनसन बस्छु। कोही पनि पत्रकारलाई यस्तो सह्य हुन्न।’

उनले सबै मिडियामा पीडित पत्रकार र कर्मचारीहरूको मुद्दालाई पनि निरन्तर दबाबमुलक र कानूनी संघर्षबाट अघि बढाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.