|

पर्सा : गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा भन्दै १९ औं पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा पर्सामा नेपाल विद्यार्थी संघ पनि सडकमा उत्रिएको छ। शुक्रबार अबेर नेपाल विद्यार्थी संघ (नेवि संघ) पर्सा पनि सडकमा उत्रिएको हो। 

आफ्नो पार्टीको भ्रातृ संगठनले अगुवाइ गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्यायलगायत स्थानीय नेता कार्यकर्ता पनि सडकमा ओर्लिएका छन्।

उनीहरुले ‘डा.केसीको अनशन–मेडिकल माफियालाई टेन्सन, सरकार आफ्नो नियत सच्याऊ, डा.गोविन्द केसीलाई बचाऊ र प्रहरी हाम्रो साथी हो, जनता सरकारभन्दा माथि हो ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर वीरगन्जको घण्टाघर चौकमा प्रदर्शन गरेका थिए।

योभन्दा पहिले पनि समर्थक सडकमा 

यो भन्दा अगाडि पनि वीरगन्जमा नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत, स्थानीय सामाजिक अभियन्ताहरु सडकमै ओर्लिएर डा केसीको जीवन रक्षा र जायज माग पूरा गर्न भन्दै सरकारलाई दबाब दिँदै आइरहेका छन्। 

कोरोनाको हटस्पट वीरगन्जमा निषेधाज्ञासमेत कायम नै रहेको भए पनि सामाजिक दूरी कायम गर्दै सरकारलाई दबाब दिन सडकमै ओर्लनुपरेको समर्थकहरुले बताएका छन्। 

आम सर्वसाधारणको हितमा ६० वर्ष नाघेका एउटा डाक्टरले उठाएका मागको बेवास्ता गर्दै सत्याग्रहप्रति सुरक्षाकर्मीले ट्रमा सेन्टर काठमाडाैंमा पुर्‍याएर देखाएको दुर्व्यवहारको उनीहरुले कडा शब्दमा निन्दा पनि गरेका छन्। गणतान्त्रिक मुलुकमा विपन्न नागरिकका पक्षमा उचित माग राखी अनशनमा बसेका डा.केसीमाथि भएको  दुर्व्यवहारको भर्त्सना गर्छौं, उनीहरुले भनेका थिए। 

डा केसी जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा रहेको रानीचौरको बाविरामष्ट मन्दिरमा भदौ २९ बाट १९ औं सत्याग्रहमा अनशन बसेका थिए। उनको स्वास्थ्य बिग्रन थालेपछि सुरक्षाकर्मीले काठमाडाैं ल्याई ट्रमा सेन्टरमा लान खोज्दा उनी मानेका थिएनन्। त्यही समयमा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको भनिएको छ।

अहिले डा केसीको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.