|

पाल्पा : पाल्पा रम्भा गाउँपालिका-२, फोक्सिङकोटस्थित बेलौजामा गएको पहिरोमा ज्यान गुमाएका पाँच जनाको शव पोष्टमार्टमका लागि सदरमुकामसम्म ल्याउन समस्या परेको छ। सदरमुकाममा लैजान नसकेपछि रम्भा गाउँपालिका ५ मा रहेको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ।

बिहीबार बिहान करिब ४ बजेतिर पहिरो चल्दा बेलौजास्थित घरमै सुतिरहेका पाँच जना पुरिएका थिए। ६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनीसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, नातिनीहरू ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुमिसरा आलेको शव पहिरो गएको ३६ घन्टापछि फेला परेको थियो। 

मृतकहरूको शव पोष्टमार्टम गरेर आजै परिवारजन र आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराइले जानकारी दिएका छन्‌। तर शव पोष्टमार्टम गर्न भने समस्या भएको छ। 

शव जसोतसो फेला पारिएपनि पोष्टमार्टम गर्नको लागि अस्पतालसम्म ल्याउनै समस्या भएको हो। घटनास्थलबाट अस्पतालतर्फ आउने बाटोसमेत पहिरोले भत्काएको छ।

घटनास्थलबाट गाडी चल्ने स्थानसम्म मृतकका शव ल्याउन पनि गाह्रो भएको नेकपा पाल्पाका अध्यक्ष तथा त्यस क्षेत्रका प्रदेश संसद नारायण आचार्यले बताए। जंगल र भीरको बाटो जेनतेन शव ताहुँसम्म ल्याएको उनले बताए।

शव सड्न थालिसकेकोले जिल्ला अस्पतालसम्म लैजानसक्ने अवस्था छैन। घण्टौं समय लगाएर शव यहाँसम्म ल्याइएको छ। पोष्टमार्टमका लागि शुक्रबार रातीदेखि नै शव बोकेर हिँडालिएपनि शनिबार बिहान मात्र ताहुँमा ल्याइपुर्‍याइएको हो। पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पतालबाट चिकित्सक यहाँ आइसकेका छन्।

बेलौजामा पहिरो गएकै दिन सुरूङडाँडाकी २७ वर्षीया मोतिसरा गाहाको पनि पहिरोमा पुरिएर मृत्यु भएको थियो। उनको शव भने त्यही दिन फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.