एक जना पक्राउ, डीएसपी खड्का पुन: खिकाला पुगे
एक जना पक्राउ, डीएसपी खड्का पुन: खिकाला पुगे
डडेल्धुरा : बझाङको मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया बालिका सम्झना कामी बुधबार मृत भेटिइन्। साँझ साढे ५ बजे घरबाट गाई–गोरु गोठभित्र बाँध्न निस्केकी उनी मृत भेटिएकी हुन्।
बिहान गाई–गोरु बाहिर ल्याउने र साँझभित्र बाँध्ने काम उनले नै गर्थिन्। घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनकै काँधमा थियो। र, त्यसमा उनी निपुण थिइन्। गोठ घरदेखि आधाघन्टा टाढा छ।
बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् सम्झना। उनी घरको सबै जसो काम गर्थिन्। हजुरबुवा हजुरआमासाथ बसिरहेकी उनी कक्षा ६ मा अध्ययनरत थिइन्।
‘सबै गाउँलेहरू लागेर खोजी सुरु गर्यौँ। खोज्दाखोज्दै राति भइसकेको थियो। राति ८ः३० बजे नातिनी मन्दिरभित्र शरीरको तल्लो भाग नाङ्गो अवस्थामा मृतक भेटिइन्।’ बाजे गोरखले भने, ‘शवलाई वल्टाइपल्टाई गरी हेर्यौँ। शरीरभरी निलडाम थिए।’
सम्झनाका बुबा बिजुली र आमा धौली ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारत कर्नाटकमा छन्। सम्झनाको मृत्यु खबर सुनेपछि उनीहरू घर फर्किँदैछन्।
उनका माइली र साइली बहिनी एवम् फूपू लक्ष्मी कामी घरमा छन्। एक छोरा र दुई छोरी बिजुली र धौलीसँगै भारतमै बस्छन्।
सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्का बताउँछन्।
डिएसपी खड्काका अनुसार पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। शनिबार बेलुकासम्म रिपोर्ट आउने उनले जानकारी दिए। उनको शव जिल्ला अस्पतालमा राखिएको छ।
सम्झनाको बलात्कार र हत्या भएपछि हजुरबुवा गोरखको होस–हवास उडेको छ। उनी मात्रै होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ।
घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर आएका छन्।
कसैले उनलाई नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ।
उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोँचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए। घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ।
उक्त घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ। विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्ति निकालेका छन्।
अखिल नेपाल महिला संघ (अनेसंघ)ले बझाङकी बालिका सम्झनाको हत्या गर्ने दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको छ।
अनेमसंघककी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुन्। उनीहरूले बालबालिकाको भय रहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन्।
यस्तै, अनेरास्ववियुका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन्।
उनले पीडित परिवारलाई उचित परिपूरणको व्यवस्था गर्न समेत माग गरेका छन्। सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएजस्तै बलात्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।