मुगु गाउँमा सशस्त्र प्रहरी राख्न जग्गा पनि खोजिने
मुगु गाउँमा सशस्त्र प्रहरी राख्न जग्गा पनि खोजिने
मुगु : चीनसँग जोडिएको १३ नम्बर पिलरको अवस्था बुझ्न मुगु सदरमुकाम गमगढीबाट सरकारी अधिकारी सम्मिलित टोली हिँडेको छ।
हुम्लासँग जोडिएको ११ नम्बर पिलर ५८ वर्षपछि फेला परेको चर्चा भइरहेका बेला मुगुबाट चीन (तिब्बत) सँग जोडिएको पिलरको निरीक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली नेतृत्वको टोली हिँडेको हो।
यो टोलीमा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका निरीक्षक खुमबहादुर केसी, मुगुको कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामासहित १४ जनाको टोली सीमा क्षेत्रतर्फ प्रस्थान गरेको हो।
हुम्लास्थित तिब्बतसँगको सीमा पिलरबारे बिबाद भएपछि मुगुका सरकारी अधिकारीहरु १३ नम्बर पिलरको अवस्था बुझ्न त्यसतर्फ गएका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।
मुगुको चीनसँग एक मात्र १३ नम्बर सीमा पिलर छ। जुन पहिलेकै स्थानमा छ या यताउता सारिएको छ, त्यो बुझेर आउने गरी टोलीलाई पठाइएको उनले बताए। टोलीलाई सदरमुकाम गमगढी सीमा क्षेत्रसम्म पुग्न ४ दिन र फर्किन ४ दिनसहित ८ दिन लाग्छ।
टोलीले तिब्बती जनप्रतिनिधिलाई भेटेर सीमा पिलर तथा सुरक्षाबारेमा छलफल गर्नेछ। त्यसैगरी व्यापारिक सम्बन्ध बढाउन परामर्श पनि गर्ने भएको छ।
पिलर निरीक्षणमा खटिएको टोलीले सीमा क्षेत्रस्थित मुगु गाउँमा सशस्त्र प्रहरीको क्याम्प स्थापनाका लागि उपयुक्त स्थान हेर्नेछ। जग्गाबारे टुंगो समेत लगाएर पनि फर्किने भएको छ । तिब्बतसँग जोडिएको क्षेत्रमा अहिलेसम्म शसस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छैन।
पहिले देखि नै सीमा क्षेत्रमा रहेको मुगु गाउँको प्रहरी चौकीले मुगु-तिब्बत सीमामा सामान्य सुरक्षा प्रदान गर्दै आएको छ।
सीमामा स्थायी सुरक्षा नहुँदा चोरी सिकारी बढेको छ। नेपालतर्फ पाईने मूल्यवान जडीबुटी र वन्यजन्तु चीनतर्फ अवैध रुपमा पठाइने गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।