|

भक्तपुर : कोरोना संक्रमण समूदायस्तरमा फैलिएपछि भक्तपुर नगरपालिकाले ७५ शैयाको आइसोलेसन केन्द्र शनिबारबाट सञ्चालनमा ल्याएको छ। नगरले ब्रम्हायणीस्थित बहुउद्देश्य भवनमा आइसोलेसन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो। 

भनपाले यसअघि नगरभित्रका कोरोना संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र भक्तपुर अस्पतालको आइसोलेसन पठाउँदै आएको थियो। संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुट्टै आइसोलेसनको आवश्यकता महशुस गरी ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा आइसोलेसन निर्माण गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना संक्रमितहरुलाई लक्षित गरी आइसोलेसन केन्द्रको निर्माण गरेको हो। आइसोलेसन केन्द्र नेपाल सरकारको मापदण्डअनुरुप नै निर्माण गरिएको नगरप्रमुख प्रजापतिले बताए। ‘भक्तपुर नगरभित्र घरमा आइसोलेसनमा बसेकोमा परिवारै संक्रमित देखिएको हुँदा होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसनको व्यवस्था गरेको हो,’ नगरप्रमुख प्रजापतिले भने।

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्त गरिएको छ। भुइँ तलामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ।

आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाफाटाबाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गर्ने भएको छ। प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुट्टै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्न लागि किताब, पत्रपत्रिकासहितको र्‍याकको व्यवस्था गरिएको छ। 

आइसोलेसन केन्द्रमा नगरपालिकाले नै आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन गर्नेछ। आइसोलेसन केन्द्रमा हरेक दिन ३ जना नर्सले नियमित सेवा दिने व्यवस्था गरेको छ। साथै प्रत्येक दिन बिहान १ र बेलुकी १ गरी दुई जना डाक्टरले सेवा दिने छ। केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जना कर्मचारीहरु व्यवस्था गरिएको छ। 

संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलगअलग फोनको व्यवस्था गरिएको छ। संक्रमितहरुको लागि छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खाना खाजा खुवाइने व्यवस्था पनि गरिएको छ। 

संक्रमितहरुको निम्ति आवश्यक भएमा अक्सिजनको समेत व्यवस्था पनि गरिएको छ। आइसोलेसन केन्द्रमा रोगका लक्षण नदेखिएका अथवा सामान्य लक्षण देखिएकाहरुलाई राखिने व्यवस्था गरेको छ। आइसोलेनमा बस्दा बस्दै बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाहमा नपाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने बन्दोबस्त गरिएको छ। त्यसको निम्ति आइसोलेसन केन्द्रमा अलग एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ। 

नगरपालिकाले त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुको निम्ति सुरक्षाको व्यवस्था समेत गरेको छ। आइसोलेसन केन्द्रमा सात दिनको ड्युटी सकिने बित्तिकै उनीहरुलाई एक हप्ताको लागि अलग क्वारेनटाइनमा राखेर कोरोना परीक्षण पश्चात ड्युटीमा खटाउने व्यवस्था गरिएको छ।

यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको वीरदल गण सूर्यविनायकका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख सुरेन्द्र कोइरालालगायतको टोलीले शुक्रबार आइसोलेसन केन्द्रको निरीक्षण गरेको छ। टोलीले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरेको थियो। 

     
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.