रोजगारीका लागि भने भारत नै जानुपर्ने बाध्यता
रोजगारीका लागि भने भारत नै जानुपर्ने बाध्यता
कञ्चनपुर : महाकाली नगरपालिका-१० र भारत उत्तर प्रदेश पिलिभित जिल्लाको बोधिपुर गाउँलाई १८ र १९ नम्बर सीमास्तम्भले छुट्टिएका छन्। दुवैतिरका बासिन्दा दशगजा भएर ओहोरदोहोर गर्छन्। नेपालतिर १८ नम्बर बस्ती छ। १८ नम्बर बस्ती भने १९ नम्बर पिल्लर नजिक छ। १९ नम्बर पिल्लर नजिक रहेको बस्तीलाई १८ नम्बर किन भनिएको हो, स्थानीयलाई थाहा छैन।
स्थानीय गुणेश सुनार भन्छन्, ‘यो बस्तीलाई किन १८ नम्बर भनियो मलाई पनि थाहा छैन, पहिलादेखि नै यसलाई १८ नम्बर नै भन्दै आएका छन्।’
महाकाली नगरपालिका-८, सुन्दरनगरको झोलुङ्गे पुल हुँदै पुगिने १८ नम्बर बस्तीमा आधा दर्जन घरपरिवार बसोबास गर्छन्। दोधारा-चाँदनीमा बस्ती बसेदेखि यस क्षेत्रमा पनि बसोबास गर्न थालिएको हो।
अहिले १८ नम्बर बस्तीमा बसोबास गर्ने सबै बासिन्दा कर्णाली प्रदेशको दैलेख पुर्ख्यौली घर भएकाहरू छन्। भारतीय सहर मुम्बईमा काम गर्न गएकाहरू यहाँ आएर बसेका हुन्। ‘पहिला हाम्रा पुर्खा मुम्बईमा काम गर्न जान्थे, उताबाट फर्केपछि यता बस्न थालेका हुन्,’ स्थानीय सुनारले भने, ‘त्यसपछि यतैका भइयो।’
जोगबुडा नदीको बाढीले घर खेत बगाएपछि धेरै परिवार बस्ती छाडेर हिँडेका थिए। तीमध्ये अहिलेका ६ परिवार भने त्यहीं बसिरहेका छन्। त्यसपछि १८ नम्बरमा ठूलो बस्ती भएको सुनारले बताए।
भारतीय सहरमा मजदुरी र खेती किसान गरी उनीहरूले जीविका चलाउँदै आएका छन्। उनीहरू भारतका अन्य सहरमा समेत नोकरीका लागि जाने गरेका छन्
बस्तीमा अधिकांश घर खर र टीनले छाएका कच्ची छन्। ती सबै घरमा सोलार जडान गरिएको छ। विद्युत नपुगेकाले सोलार जडान गरी बस्तीलाई उज्यालो बनाइएको छ। १८ नम्बर बस्तीका समस्या विस्तारै हट्दै गएको स्थानीय सुनारले बताए। ‘पहिलो जस्तो समस्या त अहिले छैन, विस्तारै हट्दै गएका छन्,’ उनले भने।
सुन्दरनगरमा झोलुङ्ग पुल बन्नुअघि उनीहरूले भारतीय भूमि भएर दोधारा चाँदनीको बाबाथान आउनु पर्थ्यो। पुल बनेपछि त्यो समस्या हटेको छ।
बस्तीका बालबालिकालाई शिक्षा आर्जनका लागि भने अहिले पनि समस्या छ। बस्तीनजिक विद्यालय नभएपछि बालबालिकालाई पढाउन समस्या भएको छ। बालबालिकाले अध्ययनका लागि बस्ती भन्दा निकै टाढा रहेका ओमकार आधारभूत विद्यालय र हरिओम आधारभूत विद्यालयमा आउनुपर्ने बाध्यता छ। ‘त्यो बाहेक अरु कुनै विकल्प नै छैन,’ स्थानीय सुनारले भने।
सुनारका बुवा सन्त बहादुर सुनार बस्तीमा सबैभन्दा बढी पढेका बासिन्दा हुन्। उनी विभिन्न सामाजिक कार्यमा सक्रिय छन्। गणेश सन्त बहादुरका छोरा हुन्। ‘यो बस्तीमा मेरो बुवाले नै सबैभन्दा बढी पढ्नुभएको छ,’ उनले भने, ‘अरुले पढ्न पाएनन्, पढ्नलाई यहाँ स्कुल नै छैन।’
नेपाल भारत दुवैतिरका बासिन्दाले एक आपसमा राम्रो सम्बन्ध बनाएका छन्। दुवैतिरका बासिन्दाको दैनिक सम्पर्कले भारतीयहरू पनि नेपाली बोल्छन्। बोधपुरका अकलेश कुमारले रात-दिनको सम्बन्धले नेपाली बोल्न सिकेको बताए। उनले भने, ‘सबै हाम्रै भाई बन्धु छन्, बोल्न सिकिहालिन्छ नि!’
महाकाली नगरपालिका १० का अध्यक्ष नर बहादुर सुनारले स्थानीय तह निर्वाचनपछि बस्तीका सेवा सुविधा विस्तार र विकासलाई प्राथमिकता दिइएको बताए। चुनावपछि बस्तीमा सोलार जडान, जैविक तटबन्ध निर्माण, नयाँ बाटो खोल्ने लगायतका कार्य भएको उनको भनाइ छ।
‘बस्तीलाई प्राथमिकता दिइएको छ, त्यहाँ १८ नम्बरसम्म बाटो खोलियो,' उनले भने, ‘अझ पनि थप काम गर्छौं।' बस्तीमा कल्भर्ट र झोलुङ्गे पुल निर्माण भएपछि बासिन्दालाई सहज भएको अध्यक्ष सुनारले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।