|

दाङ : बबई गाउँपालिका–४ का लक्ष्मण भण्डारीले हापुरेमा मोबाइल पसल गर्दै आएका थिए। राम्रै आम्दानी भइरहेको थियो। तर, कोरोना महामारीका कारण पाँच महिनाभन्दा बढी लकडाउन हुँदा उनी पसल बेच्न बाध्य भए। लामो समयको बन्दका कारण घरभाडा तथा खानाका लागि नै पसल बेचेको उनको भनाइ छ।

‘एकातिर लकडाउनले गर्दा व्यवसाय बन्द भयो। अर्काेतर्फ घरभेटीलाई घरभाडा कसरी दिने र के खाने अवस्था आयो,’ उनले भने, ‘जसका कारण अवस्था नराम्रो हुँदै गएपछि पसल बिक्री गरे। कोरोनाका कारण व्यवसायबाट विस्थापित भइयो।’

गाउँघर मै केही गरौँ भन्ने भन्ने भए पनि त्यो सबै मरेर गएको भण्डारीले दुखेसो पोखे। लकडाउनको समयमा पनि विभिन्न स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय गर्ने दिएको भए आफूहरु विस्थापित हुने अवस्था नआउने उनको भनाइ छ।

‘यो महामारी कहिलेसम्म हो। कसैलाई थाहा छैन,’ उनले भने, ‘तर लामो समय लकडाउन र त्यही समयमा घरभेटीहरुले भाडा छुट दिनुको साटो पेलेर नै माग्नाले व्यवसाय नै छोड्नु पर्याे।’

लकडाउनका कारण भण्डारी मात्र नभइ दाङमा धेरै व्यवसायीहरु विस्थापित भएका छन्। घोराहीका पदम भण्डारीले नेपालमा कोरोना महामारी हुनुअघि घोराही–१५ मा करिब ३५ लाख रुपैयाँ लागतमा पार्टी प्यालेस सुरु गरेका थिए। जब कोरोना महामारीका कारण लकडाउन सुरु भयो। त्यसपछि पार्टी प्यालेस पनि बन्द भयो। 

‘करिब पाँच छ महिना मात्र सञ्चालन गरेको थिएँ। कोरोनाका कारण लकडाउन भएपछि बन्द भयो,’ भण्डारीले भने, ‘पाँच छजना कर्मचारी पाल्न र भाडा तिर्न समस्या भयो। अहिले व्यवसायले बन्द गरेर विस्थापित हुन लागेको छु।’ उनले पार्टी प्यालेस अब सञ्चालन गर्न सक्ने अवस्था नभएको बताए। प्यालेसमा भएका सामानहरु बिक्री गर्ने उनले बताए।

पछिल्लो समय यातायात, होटल, पसललगात सञ्चालनमा आए पनि खासै कारोबार नहुने व्यवासायीहरु बताउँछन्। ‘अहिले सबैतिर खुकुलो भएको छ, तर बिक्री छैन,’ तुलसीपुरमा फेन्सी व्यवासय गर्दै आएका मदन विकले भने, ‘चाडपर्व पनि नजिकिँदै छ। गत वर्ष यही समयमा धेरै राम्रो व्यवसाय भएको थियो। तर अहिले घरभाडा कसरी बुझाउने भन्ने चिन्ता छ।’

साना व्यवसायीहरु मात्र नभई करोडौं रुपैयाँ लगानी भएका ठूला होटल व्यवसायीहरु पनि चिन्तामा छन्। लकडाउन खुकुलो भए पनि  ग्राहकहरु तत्कालै होटेलमा आएर खाने बस्ने अबस्था नरहेको घोराहीस्थित भिंग्रेली भिलेज रिसोर्टका म्यानेजर प्रकाश पौडेलले बताए। होटलले स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउँदा समेत खासै ग्राहकहरु नआएको उनले बताए।

दाङका ठूला होटल पनि करिब छ महिनादेखि सुनसान छन्। सरकारले सभा, सम्मेलन तथा गोष्ठीहरुमा रोक लगाएका कारण पनि ग्राहक पाउन नसकिएको उनले बताए। ‘अझै पनि ग्राहकहरुलाई कोरोनाको डर त्रास छ,’ पौडेलले भने, ‘पहिलेको जस्तै तरिकामा सञ्चालन हुन अझै कम्तीमा पनि चार पाँच महिना समय  लाग्छ।’

लकडाउनको अवधिमा करिब डेढ सय व्यवसायीहरु पलायन भएको दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ। तीमध्ये अधिकांश होटेल व्यवसायी, पर्यटन व्यवसायी र फेन्सी व्यवसायी रहेको संघका अध्यक्ष नारायण भुषालले बताए। उनका अनुसार यी व्यवसायमा आवद्ध करिब ८०० जनाले रोजगारी गुमाएका छन्।

लकडाउनको अवधिमा व्यापार व्यवसाय बन्द हुँदा घर भाडा, बैंकको ब्याज तथा अन्य विभिन्न कर तिर्ने रकम समेत जम्मा गर्न नसकेको व्यपारी व्यवसायीको गुनासो छ। यस्तो अवस्थामा व्यवसायमा टिकिरहन सक्ने अवस्था नदेखिएपछि केही व्यवसायीहरुले पलायन हुने सोच समेत गरेका छन्। नेपाल सरकारले व्यवसायीहरुको पक्षमा राहत हुने कुनै पनि कार्यक्रम ल्याउन नसकेकाले आफूहरु पलायन हुन बाध्य भएको उनीहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.