|

बैतडी : सुदूरपश्चिम प्रदेशका छवटा प्रयोगशालाबाट कोरोनाको परीक्षण भइरहेको छ।  सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार तीवटै तहका सरकार र निजी क्षेत्रको लगानीमा पिसिआर प्रयोगशाला सञ्चालनमा आएका हुन्।

जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ, डडेल्धुरा अस्पताल, डोटी अस्पतालमा एक एक र  सेती प्रादेशिक अस्पतालमा दुई प्रयोगशालामार्फत परीक्षण भइहरेको हो। बैतडी, डोटी, सेतीमा प्रदेश सरकारको लगानी, बझाङमा स्थानीय सरकारको र डडेल्धुरामा निजी क्षेत्र र सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा आएको हो। सबै प्रयोगशालामा गरी दैनिक ६ हजार जनासम्मको पिसिआर परीक्षण गर्न सकिने स्वास्थ्य निर्देशनालायको दाबी छ।

डा. अवस्थीले भने, ‘दैनिक तीन चरणमा गरी २४सैं घण्टा जनशक्ति परिचान गरी छ हजारजनाको पिसिआर परीक्षण गर्न सक्छौं।’ यसका साथै निकट भविष्यमै अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र कञ्चनपुरको महाकाली अस्पतालबाट पनि परीक्षण कार्य हुने जनाइएको छ। यी प्रयोगशाला असोज महिनाभित्र सञ्चालनमा आउने डा. अवस्थीले बताए।

अन्य प्रदेशबाट पनि नमूना पठाउन सकिने

सुदूरपश्चिमका छवटा प्रयोगशालाबाट परीक्षण कार्य जारी रहेकाले अन्य प्रदेशबाट पनि स्वाबको नमुना पठाउन सुदूरपश्चिमका स्वास्थ्य निर्देशनायले आह्वान गरेको छ। 

कुनै प्रयोगशालामा चाप बढेर रिपोर्ट आउन ढिलाई भइरहेको भए परीक्षणका लागि सुदूरपश्चिमका प्रयोगशालामा पठाउन सकिने जनाएको हो। निर्देशक डा. अवस्थीले भने, ‘अन्य प्रदेशमा स्वाबको नमुना बढी भएमा परीक्षणका लागि सुदूरपश्चिम पठाउन सकिनेछ।’

८१ हजारको परीक्षण 

सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म सुदूरपश्चिममा ८१ हजार ३९६ जनाको पिसिआर  परीक्षण गरिएको छ। 

जसमध्ये छ हजार ९८२ मा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक हजार ८५ जना मात्रै सक्रिय संक्रमित छन्। संक्रमितमध्ये १४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

भारतबाट फर्केका दुई हजार १९० जना हाल प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.