स्याङजा : विश्व पर्यटन दिवसको अवसरमा सरकारले पर्यटनका लागि ‘हाम्रो सन्देश , घुमौँ देश , चिनौँ परिवेश’ भन्ने मूल नारासहित देश दर्शन कार्यक्रम सुरु गरेको छ।
कोरोना महामारीले शिथिल बनाएको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न सरकार मात्र होइन निजी क्षेत्र पनि चासो देखाएका छन्। पर्यटन दिवसकै अवसर पारेर स्याङ्जाको आँधीखोलामा आन्तरिक पर्यटन प्रवर्द्ध गर्ने उद्देश्यसहित पारिवारिक र्याफ्टिङ सुरु गरिएको छ।
२०७० सालबाट प्रत्येक वर्ष साउन देखि असोज सम्म आयोजना गरिने र्याफ्टिङ यस वर्ष भने कोरोनाको कारण केही ढिलो आयोजना गरिएको हो।
धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिने आँधीखोलामा नदीजन्य वस्तुको दोहनले आफूहरु चिन्तित बनेको पर्यटन व्यवसायी कृष्ण जंग केसी बताउँछन्। उनी भन्छन् , ‘क्षणिक लाभको लागि ढुङ्गा गिट्टी बेच्नुभन्दा दीर्घकालीन लाभ हुने पर्यटकलाई प्रकृति बेचौँ। ’
असोजभर प्याकेजमा र्याफ्टिङको मज्जा लिन सकिने छ। पानीको बहाव र गहिराइ कम हुने भएकोले आँधीखोलामा पारिवारिक र्याफ्टिङ गर्दा आनन्द हुने आन्तरिक पर्यटकहरु बताउँछन्।
परिवारसँग र्याफ्टिङमा आएकी साकिरा अर्याल भन्छिन् , ‘साँच्चै आँधिखोला सुरक्षित रहेछ। डर छैन, मज्जा धेरै भो। खोलामा बग्दै प्रकृति अवलोकन गर्दा स्वर्गको अनुभव गरेँ।’
प्राकृतिक हिसाबले मात्रै नभइ धार्मिक हिसाबले पनि यो खोलालाई महत्वपूर्ण मानिन्छ। धार्मिक पात्र श्रवण कुमारका दृष्टिविहीन माता पिताले पुत्र वियोगमा बगाएको आँसुबाट बनेको अन्धाअन्धी खोला हुँदै आँधिखोला भएको भन्ने धार्मिक विश्वास छ।
आँधिखोलाको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सके क्यानोनिइङ, प्याराग्लाइडिङ,साइक्लिङ, र्याफ्टिङ जस्ता साहसिक खेल स्याङ्जाको समृद्धिको आधार बन्ने व्यवसायी बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।