|

कञ्चनपुर : सडक सेवा शुल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन्। सडकमा

सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसविरुद्ध नेपाली कांग्रेसको अगुवाइमा सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन्। सडक अवरुद्ध हुँदा मध्याह्यनदेखि सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। 

नगरपालिकाले सडक सेवा शुल्क कर उठाउन १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। नगरपालिकाले दोहोरो कर लिन थालेपछि आन्दोलनमा उत्रनुपरेको सवारीधनीहरुले बताएका छन्। 

ट्रक, ट्याक्टर, अटो रिक्सा, जिपलगायत सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन्। ठेकेदारले नगरपालिका भित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट ५० देखि एक सय रुपैयाँसम्म लिने गरेका छन्। 

ठेकेदारमार्फत नगरपालिकाले चर्को शुल्क लगाएकाले आन्दोलन गर्नुपरेको सवारीधनीहरुको भनाइ छ। नगरपालिकाले सवारीसाधनबाट शुल्क अकसुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने हरिबहादुर गैरालले बताए। 

गैरालको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ। कृषि प्रयोजनका सवारी गुडाएबापत नगरपालिकाले लिने करविरुद्ध दबाब दिन संघर्ष समिति गठन गरिएको बताइएको छ।

गत शुक्रबारसमेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए। नगर प्रमुख कर्ण बहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुःल्कका लागि ठेक्का सम्झौता गरिएको बताए।

'सडक अवरुद्ध गर्नेलगायत कार्यले जनताले सास्ती पाएका छन् उनले भने, ‘अभद्र र असौहार्द वातावरणमा गरिएको आन्दोलनको कुनै अर्थ छैन।’ नगरपालिका कार्यालयमा दिइएको प्रेस विज्ञप्तिमा आन्दोलनकर्ताको नेतृत्वकर्ता को हो भन्ने कुरा नै उल्लेख छैन।

‘विज्ञप्तिमा हस्ताक्षर मात्रै गरिएको छ, नाम उल्लेख छैन,' नगर प्रमुख हमालले भने, 'आन्दोलनका नेतृत्वकर्ता को हो बार्ताका लागि आउनोस\ भनेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.