|

ताप्लेजुङ : कोरोना भाइरस महामारीको असर कृषि क्षेत्रमा पनि परेको छ। तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सोंच बनाएका फुङलिङ नगरपालिका–९ बुङकुलुङका किसान लकडाउनका कारण बजार ठप्प भएपछि चिन्तित बनेका छन्।

लकडाउनका कारण तरकारी बजारसम्म पु¥याउन नसक्दा बुङकुलुङका पासाङरिता शेर्पा चिन्तित छन्। विगतको जस्तो भए यतिबेला उनी बारीबाट तरकारी टिप्दै गाडीमा लोड गरिरहेका हुन्थे। गत वर्ष १५ लाख रुपैयाँको बन्दा र दुई लाखको सिमी बेचेका शेर्पालाई यस वर्ष लहलह फलेको तरकारी बारीका कुहिने डरले पिरोल्न थालेको छ।

शेर्पाले यस वर्ष कम्तीमा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका थिए। मल, बीउ र स्याहारमा अहिलेसम्म पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले बताए। 

ताप्लेजुङमा पाथीभरा, कञ्चनजंघालगायत स्थान घुम्न आउने पर्यटकलाई लक्षित गरेर खोलिएका होटल बढी छन्। पर्यटन क्षेत्र ठप्प भएपछि होटलको कारोबार पनि बन्द छ। होटलमा खपत गर्ने योजनासहित तरकारी उत्पादनमा लागेका किसान होटल बन्द भएपछि समस्यामा परेका छन्। मानिसको चहलपहल नरहेको र होटल बन्द रहेकाले तरकारी बिक्री हुने सम्भावना नरहेको किसानहरु बताउँछन्।

बुङकुङलुङ सदरमुकाम फुङलिङ बजारबाट नजिकै रहेको गाउँ हो। यहाँका प्रत्येक घरमा तरकारी खेती गरिएको छ। पछिल्लो समय सरकारले कृषिमा अनुदान, सहुलियत कर्जा, कृषि बिमाजस्ता योजना ल्याएको छ। यसले गर्दा यहाँ व्यावसायिक रुपमै तरकारी खेती हुने गरेको छ। घरेलु कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार १०० भन्दा बढी किसानले व्यावसायिक तरकारी उत्पादन गर्ने फर्म सञ्चालन गरिरहेका छन्। तर, ती किसानलाई बजारकै समस्या छ। 

फुङलिङको माथिल्लो क्षेत्र बुङकुलुङ, चारपाटे, खोक्से, भोटेगाउँका किसानहरु तरकारी खेती गर्छन्। केही तल्लो क्षेत्र देउलिङ्गे, केनिम, तारिबुङका छन्। यहाँबाट बजार नजिकै भएको र सानातिना उद्योगसमेत खुल्न थालेकाले तरकारी खेतीमा स्थानीयको आकर्षण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.